logo
२०८० चैत्र १६ शुक्रवार



‘संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण छ’: नेता सिंह

राष्ट्रिय |


‘संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण छ’: नेता सिंह


काठमाडौँ, वैशाख ६ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले आज यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र देशको विकासका लागि प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

नेता सिंहले विगतका समयमा सङ्कटको घडीमा कांग्रेसले सरकारलाई साथ दिएको जनाउँदै आगामी दिनमा पनि काँग्रेस देश र जनताका पक्षमा उभिने स्पष्ट पार्नुभयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा देखिएको कमीकमजोरीलाई औँल्याउने जिम्मा पत्रकारिता जगतकाे भएको उहाँको भनाइ थियो ।

काँग्रेसका नेता एवं पूर्वराज्यमन्त्री उदयशम्शेर राणाले वर्तमान सरकारले संविधान मिच्ने प्रयास गरेको आरोप लगाउँदै उक्त कदमविरुद्ध पत्रकार एक भएर उभिनुपर्ने बेला आएको बताउनुभयो । संविधान र सञ्चार क्षेत्रलाई सरकारले हस्तक्षेप गर्न खोजेको उहाँको आरोप थियो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले प्रेस स्वतन्त्रता र विकासको पक्षमा निरन्तर उभिन नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो । पत्रकार महासङ्घ र महानगरपालिका सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको रक्षाका लागि आफ्नो नेतृत्वमा रहेको कार्यसमिति खरोरुपमा उत्रने बताउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी, नेपाल प्रेस युनियन काठमाडौँका पूर्वध्यक्ष नकुल अर्याललगायतले सरकारले पत्रकारको अधिकारको रक्षाका लागि पत्रकार महासङ्घको नयाँ कार्यसमिति लाग्नुपर्ने बताउनुभएको थियो ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष जगन्नाथ दुलालले श्रमजीवी पत्रकारको पक्षमा नयाँ कार्यसमितिलाई काम गर्न आग्रह गर्नुभयो । सोही अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, प्रदेश सदस्य, उपत्यका प्रदेश, प्रतिष्ठान समिति, एशोसिएट र नेपाल पत्रकार महासङ्घ काठमाडौँ, भक्तपुर तथा ललितपुरमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?