logo
२०८० चैत्र १६ शुक्रवार



‘व्यवसायीको अभियानमा सरकारको साथ छ’

अर्थ |


‘व्यवसायीको अभियानमा सरकारको साथ छ’


गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ४ गते । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसायलाई स्वच्छ र मर्यादित बनाउनु सरकारको पनि विशेष सरोकारको विषय भएकाले व्यावसायीहरूले अगाडि सारेको अभियानलाई सहयोग गर्ने बताउनुभयो ।
नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासङ्घले शुक्रबार सुरु गरेको स्वच्छ व्यवसाय, सम्मानित व्यवसायी अभियानको उद्घाटन गर्दै उहाँले यस अभियानलाई सार्थक बनाउन त्यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार भएको पनि बताउनुभयो ।
उहाँले नेपालको मौलिक कला र संस्कृतिमा आधारित परम्परागत गरगहनाको उत्पादन गरेर स्वदेश तथा विदेशमा बजार विस्तार गर्न व्यवसायीहरूलाई सुझाउनुभयो । उहाँले यतिबेला सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागेकाले सबै क्षेत्र, पेसा, व्यवसायबाट प्राप्त सुझावलाई ग्रहण गरिरहेको र जायज माग सम्बोधन गर्न प्रयास हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा महासङ्घका अध्यक्ष रमेश महर्जनले नेपालमा बनेका मौलिक डिजाइनका सुनचाँदीका गरगहना विदेश निर्यात गर्नका लागि उचित वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले निर्यातका लागि आवश्यक कच्चा पदार्थको सहज उपलब्धता नहुँदा अवैध कारोबारी फस्टाउने मौका पाएको बताउनुभयो । उहाँले वैध रूपमा कारोबार गर्नेहरू त्रासमा रहनुपरेको पनि गुनासो गर्नुभयो ।
अध्यक्ष महर्जनले स्वच्छ व्यवसाय र सम्मानित व्यवसायी अभियानअन्तर्गत यही वैशाखमा राष्ट्रिय सम्मेलनको आयोजना गरेर स्वच्छ व्यवसायका सम्पूर्ण आधारका बारेमा छलफल गरिने बताउनुभयो । उहाँले स्वच्छ व्यवसायका लागि कानुन र नियामक निकायको कार्यशैली पनि तदानुरूप हुनुपर्ने भएकाले प्रतिकूल देखिएका कानुन परिमार्जनका लागि सरकारसँग पहल पनि गर्ने बताउनुभयो । उहाँले व्यवसयीहरूले कानुनको परिपालनका लागि लेखा प्रणाली, राजस्वसम्बन्धी दायित्वलगायतका विषयमा पनि व्यवसायीलाई अभिमुखीकरण गरिने बताउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनका गरगहना निर्यातका लागि निर्यात गृह स्थापना गरिनुपर्ने बताउनुभयो । त्यस्तै व्यवसायीहरूको उत्पादन लागत कम गर्नका लागि सुनका आयात गर्ने जिम्मा बैङ्कहरूलाई मात्र नदिई व्यवसायीको महासङ्घलाई पनि दिइनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै पुराना गरगहना खरिद गर्दा व्यवसायीले विभिन्न झन्झट बेहोर्नुपरेकाले त्यसको उचित समाधान पनि खोजिनुपर्ने धारणा राख्नुभयो । यसअघि महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । महासङ्घको सातौँ वार्षिक साधारण सभाले अध्यक्षमा रमेश महर्जनलाई पुनः निर्वाचित गरेको छ । यो उहाँको तेस्रो कार्यकाल हो ।
त्यस्तै प्रथम उपाध्यक्ष्यमा रामप्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्षमा द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्षमा अमरनाथ गुप्ता निर्वाचित हुनुभएको छ । महासचिव किसान सुनार र कोषाध्यक्ष्मा केशरबहादुर विक निर्वाचित हुनुभएको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?