logo
२०८१ बैशाख ७ शुक्रवार



कर राजस्व सङ्कलन सन्तोषजनक

अर्थ |


कर राजस्व सङ्कलन सन्तोषजनक


गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३ गते । चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत अन्त्यसम्म सरकारको कर राजस्व सङ्कलन सन्तोषजनक देखिएको छ । यो अवधिमा सरकारले लक्ष्यको ७० प्रतिशत कर राजस्व सङ्कलन गर्न सफल भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चैतसम्म छ खर्ब ३६ अर्ब ६९ करोड रुपियाँ कर राजस्व सङ्कलन भएको छ । चालू आवका लागि सरकारले नौ खर्ब १३ अर्ब रुपियाँ कर राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
कुल राजस्व सङ्कलन भने छ खर्ब ८३ अर्ब ८७ करोड रुपियाँ पुगेको कार्यालयले जनाएको छ । यो लक्ष्यको ६७.५९ प्रतिशत हो । चालू आवमा सरकारले दस खर्ब ११ अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । चैतसम्म सरकारले ४७ अर्ब १७ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
यसबाहेक सरकारले १० अर्ब सात करोड रुपियाँ अनुदान प्राप्त गरेको छ भने ३५ अर्ब ५९ करोड रुपियाँ अन्य प्राप्ति शीर्षकबापत आम्दानी गरेको छ । अनुदान र अन्य प्राप्तिसहित सरकारको खातामा चैतसम्म सात खर्ब २९ अर्ब ५३ करोड रुपियाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

खर्च सात खर्बनजिक
चैतसम्म सरकारको कुल खर्च सात खर्बनजिक पुगेको छ । कार्यालयका अनुसार चालू विकास र वित्तीय गरेर छ खर्ब ९४ अर्ब ४५ करोड रुपियाँ खर्च भएको छ । यो कुल खर्च लक्ष्यको ४७.०९ प्रतिशत हुन आउँछ । यद्यपि सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएकाले खर्चको प्रगति भने केही बढी नै हुने देखिन्छ ।
चैतसम्म पाँच खर्ब ३० अर्ब ८७ करोड रुपियाँ चालू खर्च भएको छ । विकास खर्च एक खर्ब नाघेको छ । लक्ष्यका आधारमा विकास खर्च भने कम नै देखिन्छ । चालू आवमा तीन खर्ब ५२ अर्ब ९१ करोड रुपियाँ विकास खर्च गर्ने लक्ष्य सरकारले राखेको थियो । वित्तीयतर्फ ५७ अर्ब ५८ करोड रुपियाँ खर्च भएको कार्यालयको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?