logo
२०८० चैत्र १६ शुक्रवार



मत्स्य पयर्टन फस्टाउँदै, उत्पादनसँगै पर्यटकबाट राम्रो आम्दानी

अर्थ |
पर्यटन |


मत्स्य पयर्टन फस्टाउँदै, उत्पादनसँगै पर्यटकबाट राम्रो आम्दानी
मन्जिल एग्रीकल्चरद्वारा सञ्चालित माछापालन एवं मत्स्य पर्यटन क्षेत्र


हरिप्रसाद कोइराला
उर्लाबारी,चैत २३ गते । मोरङको उर्लाबारी–८ स्थित मन्जिल एग्रीकल्चर कम्पनीले २०७४ को वैशाखमा सुरु गरेको मत्स्य पर्यटनसहितको बृहत् माछापालन अहिले पूर्वी मोरङको नयाँ पर्यटकीय गन्तब्य बनेको छ ।
विभिन्न जातका माछा र स्थानीय जातका कुखुराको मासु खान एवं जल बिहार गर्न त्यहाँ पुग्ने पाहुनाको सङ्ख्या दैनिक बढिरहेको सञ्चालक डिल्लीराम न्यौपानेले बताउनुभयो । अहिले न्यौपाने र नीलप्रसाद गौतमले ११ बिघा जग्गामा चार बिघाको जलाशययुक्त पोखरीमा माछापालन गरिरहनुभएको छ ।
वार्षिक २६० मन धान ठेक्का बुझाउने सर्तमा १५ वर्षका लागि जग्गा लिजमा लिएर ब्यवसाय सुरु गरेको उहाँहरूको भनाइ छ । चार बिघाको एउटै जलाशय क्षेत्रमा नौका बिहार गर्ने ब्यवस्था मिलाइएपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।
उहाँहरूले माछाका भुरासमेत आफैं उत्पादन गर्न चार वटा पोखरीमा भुराको नर्सरी राख्नुभएको छ । नर्सरी पोखरीमा रहु, नैनी, कमल,विगेट,सिल्भर, ग्रास र भ्याकुर जातका भुरा छन् । तिनै भुरालाई ठूला पोखरीमा सारेर पाल्ने गरेको न्यौपानेले बताउनुभयो । २५ लाख रुपियाँ लगानी गरी पोखरी खनेका न्यौपाने र गौतमले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट दुई लाख २० हजार रुपियाँ अनुदान पाए यता कुनै पनि सरकारी सहयोग पाउनुभएको छैन । उहाँहरूले पोखरी परिसरलाई सुरक्षित गर्न सात लाख रुपियाँ खर्चेर तार घेरा गरिसक्नुभएको छ ।
वार्षिक ५० लाख रुपियाँको माछा उत्पादन गर्ने र बिक्री गर्ने महत्वाकांक्षी लक्ष्यका साथ माछापालन सुरु गरेका ब्यवसायीहरू हाल माछा उत्पादन र श्रमिकका लागि दैनिक आठ हजार रुपियाँ खर्च भइरहेको बताउनुहुन्छ । माछाको दानापानी ब्यवस्थापन,होटल सञ्चालन र रिसोर्ट सञ्चालनका लागि कम्पनीले १२ जनालाई रोजगार दिएको छ । ब्यवसायी न्यौपानेले भन्नुभयो– पहिलो वर्ष लक्ष्य अनुसार उत्पादन गर्न सकेनौं तर २० लाख रुपियाँको माछा बजार गयो । विषयवस्तुको तालिम र अध्ययन बिना नै ब्यवसायमा हात हालेकोले लक्ष्य अनुसार उत्पादन लिन नसकेको न्यौपाने र गौतमको भनाइ छ ।तर, पछिल्ला वर्षहरूमा ब्यवसाय घाटामा नगएको उहाँले बताउनुभयो ।
माछापालन र मत्स्य पर्यटनको पूर्वाधार निर्माणमा उहाँहरूले हालसम्म चार करोड ५० लाख रुपियाँ खर्च गरिसक्नुभएको छ । ११ बिघा जमिनभित्र बनभोज स्थल,बाल उद्यान,फेमिली टावर, रोज एण्ड भ्यू टावर, होटल ,सेल्फी टावर र फुटेज गार्डेन निर्माणको निर्माण सम्पन्न छ । सम्पूर्ण पूर्वाधार तयार भइसक्दा कुल साढे ५ करोड रुपियाँ लगानी हुने ब्यवसायी न्यौपानेले बताउनुभयो । ठूलो माछापोखरी भएकोले पोखरीमा मोटरबोट समेत सञ्चालन गरिएको छ । बाल उद्यान र मोटरबोट नेचुरल फनपार्क एण्ड रिसोटको पहिलो रोजाइ हुने गरेको छ । उहाँहरूले माछापोखरीको बरिपरि एक बिघा ८ कट्ठा जग्गामा २० प्रजातिका सिमसार युक्त वनस्पति रोपिसक्नु भएको छ । त्यसैगरी मत्स्यपालन क्षेत्रमा ६० वटा हाँस, १५० वटा स्थानीय जातका कुखुरा पाल्नुभएको छ ।
कम्पनीले मत्स्यपालनको अवलोकन गर्न आउने पाहुनालाई इच्छा अनुसार माछा झिकी ,पकाएर खान दिने,किन्न दिने र आवासका लागि होटलको समेत व्यवस्थापन गरिएको सञ्चालक गौतमले बताउनुभयो । हाल पाँच वटा सुविधा सम्पन्न वातानुकूलित कोठा तयार भइसकेका छन् भने सभा हल लगायतका केही पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । नेचुरल फन पार्कका रुपमा विकसित भइरहेको मत्स्य पर्यटन क्षेत्रमा हाल दैनिक ५० देखि ७० जनासम्म स्थानीय पाहुना आइरहेका छन् । ग्राहकको रोजाइका माछा झिकेर ग्राहककै माग अनुसारको स्वादमा खान दिने ब्यवस्था मिलाइएको सञ्चालक गौतम र न्यौपानेले बताउनु भयो ।
चालु वर्ष उहाँहरूले ६० लाख रुपियाँको माछा बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । गत साउन यता उहाँहरूले ४३ लाख रुपियाँको माछा बिक्री गरिसक्नुभएको छ । बजारमा माछाको माग उच्च छ , तर माग अनुसार आपूर्ति गर्न सकेका छैनौं । उहाँहरूले भन्नुभयो – आफ्नो जग्गा छैन् । लिजमा पनि जग्गा पाइँदैन । जग्गा पाइए माछापालन अझ बिस्तार गर्ने योजना रहेको उहाँहरूको भनाइ छ ।
उर्लाबारी – ८ मा पूर्व सभासद पर्तमान धिमालदेखि वडाध्यक्ष कुलबहादुर कार्की सम्मले अहिले माछापालन सुरु गर्नुभएको छ ।
बक्राहा खोला किनारको झण्डै २० बिगाहा जमिन अहिले माछापालन भइरहेको छ । माछापालनबाट राम्रो आम्दानी हुन थालेपछि त्यस क्षेत्रका किसानहरू धान खेत मास्दै पोखरी खन्न थालेको स्थानीयको भनाइ छ । माछापालक डिल्लीराम न्यौपानेका अनुसार उर्लाबारी–८ का वडाध्यक्ष कुलबहादुर कार्कीले चार विगाहामा, संविधान सभा सदस्य पर्तमान धिमालले चार बिघामा, नवीन खड्काले दुई बिघामा, सोमबहादुर कार्कीले १५ कट्ठामा सन्तोष तामाङले छ कट्ठामा माछापालन गर्नुभएको छ ।
भारतबाट आउने माछालाई पूर्णरूपमा विस्थापित गर्ने उदेश्यले माछापालन गरिरहनुभएका न्यौपानेले भन्नुभयो–अझै पनि भारतीय माछा भित्रिने क्रम रोकिएको छैन्। नेपाली उत्पादन भन्दा भारतीय उत्पादन सस्तो हुने गरेकोले ग्राहकहरू भारतीय उत्पादन प्रति आकर्षित भएको माछापालक किसानको भनाइ छ ।

मन्जील एग्रीकल्चरद्वारा सञ्चालित माछापालन एवं मत्स्य पर्यटन क्षेत्रका दुई वटा तस्विर छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?