logo
२०८१ बैशाख ८ शनिवार



सुरुङमार्गसँगै बजार बन्ने

अर्थ |


सुरुङमार्गसँगै बजार बन्ने


भउचप्रसाद यादव

काठमाडौँ, चैत १६ गते । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बजार निर्माण हुने भएको छ । बजार निर्माणका लागि जग्गा अधिग्रहण र डिजाइनसमेत तयार भइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । जापानी प्राविधिकहरूले सुरुङमार्गसँगै सो बजारको समेत डिजाइन गरेको सडक विभागले जनाएको छ ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सुरुङमार्ग भएर यात्रा गर्ने यात्रीको सुविधालाई दृष्टिगत गरी धादिङतर्फ सुरुङमार्गको प्रवेशद्वारसँगै ४० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको बजार (सर्भिस सेन्टर) निर्माण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार सो ठाउँमा बजार विकासको काम सुरु भइसकेको छ ।
उहाँले भन्नुभयो, ‘‘जापानलगायतका अन्य मुलुकमा समेत सुरुङमार्गमा प्रवेश गर्नुअघि यात्रुहरू ‘फ्रेस’ हुने, आराम गर्ने र आवश्यक सरसमान खरिद गर्ने तथा सवारी साधनको समेत सामान्य मर्मत सम्भार गर्न सुरुङमार्गको प्रवेशद्वारमा ‘सर्भिस सेन्टर’ निर्माण गरिएको हुन्छ ।
सोही अवधारणाअन्तर्गत नागढुङ्गा सुरुङमार्ग पनि ‘सर्भिस सेन्टर’ निर्माण गर्न लागिएको हो । ’’
महानिर्देशक थापा अनुसार सुरुङमार्ग निर्माण आयोजनाकै चौथो काम (कम्पोनेन्ट)अन्तर्गत निर्माण हुन लागेको सो बजारमा अन्तर्राष्ट्रियस्तरको डिपार्टमेन्ट स्टोर, होटल, रेस्टुरेन्ट, पेट्रोल पम्प, प्रदर्शनीस्थल, सार्वजनिक शौचालय, गाडी मर्मत केन्द्रलगायतका संरचना निर्माण गरिनेछ । त्यसैगरी स्थानीय किसानको कृषिजन्य उत्पादन तथा परम्परागत हस्तकला उत्पादनका लागि छुट्टै स्टल निर्माण गरिनेछ ।
त्यसैगरी एकै पटकमा कम्तीमा ५० वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने पार्किङ स्थल निर्माणका साथै यात्रुलाई खुला ठाउँमा घुमफिर गर्न बजारनजिकै आकर्षक बनाउन बगैँचासमेत निर्माण गरिनेछ । सवारी चालकहरू गाडीहरू एकछिन भए पनि फ्रेस हुन पाउँदा सडक दुर्घटनामा समेत कमी आउने विश्वास गरिएको महानिर्देशक थापाको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘मुलुकको पूर्वााधार विकासको पहिलो प्राथमिकता प्राप्त सो आयोजनाको पहिलो कम्पोनेन्टअन्तर्गत सुरुङमार्ग, दोस्रो कम्पोनेन्टअन्तर्गत पहुँचमार्ग, तेस्रो कम्पोनेन्टअन्तर्गत फ्लाई ओभर र चौथो कम्पोनेन्टअन्तर्गत सो सर्भिस सेन्टर निर्माण गरिनेछ । ’’ निर्माण कम्पनीले सुरुङमार्गसँगै सो बजारसमेत निर्माण गरी सरकारले हस्तान्तरण गर्ने गरी सम्झौता भएको महानिर्देशक थापाले बताउनुभयो ।
बजारको सम्पूर्ण पूर्वाधार तयार गरी सडक विभागले त्यसको व्यवस्थापन तथा सञ्चालनको जिम्मा सुरुङमार्गसँगै रहेको धुनीबेँसी नगरपालिकालाई दिने सरकारको योजना रहेको महानिर्देशक थापाले जानकारी दिनुभयो । सो ठाउँमा बजारको निर्माण तथा सञ्चालनले स्थानीय मौलिक उत्पादनले बजार पाउनुका साथै स्थानीयले रोजगारी पाउनेछन् । यसबाट स्थानीयकोे जीवनस्तर उकासिने विश्वास गरिएको उहाँले बताउनुभयो ।
महानिर्देशक थापाले भन्नुभयो, ‘‘निर्माणाधीन सर्भिस सेन्टर नेपालको इतिहासमा नै पहिलो पटक राजमार्गका यात्रुलाई लक्षित गरी निर्माण गर्न लागिएको हो । अहिलेसम्म नेपालको कुनै पनि राजमार्गमा यात्रु लक्षित गरी सर्भिस सेन्टर निर्माण गरिएको छैन । ’’ विकसित मुुलुकको राजमार्गमा करिब ४०÷५० किलोमिटरको दूरीमा यसप्रकारका सर्भिस सेन्टर निर्माण गरिएको हुन्छ ।
जापान सहयोग नियोग (जाइका)को करिब १६ अर्ब रुपियाँ सहुलियत ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण भइरहेको छ । सोही लागतअन्तर्गत नै सर्भिस सेन्टर निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?