logo
२०८० चैत्र १६ शुक्रवार



कार्यविधि संशोधनले बढायो कोषमा आबद्धता

अर्थ |


कार्यविधि संशोधनले बढायो कोषमा आबद्धता


 

सीता शर्मा

काठमाडौँ, चैत ११ गते । सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन भएसँगै कोषमा सूचीकृत हुने रोजगारदाता र योगदानकर्ताको सङ्ख्या पनि बढ्न थालेको छ । कोषले रोजगारदाता र योगदानकर्तालाई आकर्षण गर्नका लागि गत माघ २९ गतेदेखि लागू हुने गरी संशोधित कार्यविधि कार्यान्वयनमा ल्याएसँगै कोषमा आबद्धता हुनेको सङ्ख्या बढेको हो ।
कोषका अनुसार गत माघमा १७४ रोजगारदाता प्रतिष्ठानमार्फत कूल चार हजार ४८५ जना योगदानकर्ता कोषमा सूचीकृत भएका थिए । त्यस्तै फागुनमा ३४३ रोजगारदाता प्रतिष्ठानमार्फत करिब साढे पाँच हजार जना योगदानकर्ता सूचीकृत भएका छन् ।
कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले पछिल्लो संशोधनपछि कोषमा आबद्धता हुने रोजगारदाता र योगदानकर्ताको सङ्ख्या बढ्न थालेको बताउनुुभयो । उहाँले भन्नुभयो, नयाँ व्यवस्थाअनुुसार आउँदो असारसम्म आबद्धताका लागि समय निर्धारण गरिएकाले दिनदिनै सङ्ख्या बढ्न थालेको छ ।
रोजगारदाता र योगदानकर्ताको मागअनुरूप नै कार्यविधि संशोधन गरेर कार्यान्वयनमा ल्याएकाले असारसम्म कोषमा सहभागी हुनेको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुने उहाँको अपेक्षा छ । उहाँका अनुसार सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सेवा तुलनात्मक रूपमा आकर्षक नभएको गुनासोका कारण यसमा अपेक्षाअनुसार योगदानकर्ता र रोजगारदाता आबद्ध नभएपछि उनीहरू कै मागअनुुसार केही विषयहरू संशोधन गरिएको हो । संशोधित कार्यविधिले वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८ दशमलव ३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८ दशमलव ३३ प्रतिशत जम्मा हुने व्यवस्था गरेको छ । यसरी अवकाश सुविधा योजनामा जम्मा भएको रकमबाट ८० प्रतिशतसम्म ऋण सापटी लिनसक्ने वा जागिरबाट अलग भएको वा अवकाश पाएको अवस्थामा निकाल्न सक्ने व्यवस्था गरिएको छ ।
यसैगरी संशोधित कार्यविधिमार्फत औषधि उपचारसम्बन्धी सुविधामा पनि फेरबदल गरिएको छ । अस्पताल भर्ना नभई उपचार गर्दा पाउने रकम उपयोग नगरेका वा कम उपयोग गरेकाले सो सीमाभित्र रही बाँकी रहेको रकम अस्पतालमा भर्ना भई उपचार गर्दा थप रकम उपचार गर्दा थप हुन सक्ने व्यवस्था मिलाएको छ । यसैगरी मातृत्व सुरक्षाअन्तर्गत योगदानकर्ताको पत्नी सुत्केरी भएपछि छ हप्तासम्मको उपचार खर्चसमेत पाउने गरी थप गरिएको छ । कार्यविधि संशोधनमार्फत अशक्तता वृत्तिको अधिकतम सीमा हटाइएको छ भने आश्रित परिवार सुविधा योजनाअन्तर्गत विदेशी नागरिकको मृत्यु भई निजको हकवालाले पाउने रकम एकमुष्ट लिन चाहेमा सात लाख रुपियाँसम्म लिन सक्ने व्यवस्था गरिएको छ ।

योगदानकर्ता ९५ हजार
कोषमा नियमित योगदान गर्ने योगदानकर्ताको सङ्ख्या बढेको छ । कोरोनाका कारण भएको बन्दाबन्दीको अवधि (चैतदेखि साउन)सम्मको योगदानकर्ता र रोजगारदाता दुवैको योगदानबापतको रकम अनुदान स्वरूप सरकारले जम्मा गरिदिएको छ । यसपछि कोषमा योगदान दिनेको सङ्ख्या २३ हजारबाट बढेर ९८ हजार पुगेको छ ।
यसअघि कोषमा आबद्धता हुुने र नियमित नहुने समस्या धेरै थियो पछिल्लो पटक यो सङ्ख्या ह्वात्तै बढेको कोषका सहप्रवक्ता रोहित रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार कोषमा हालसम्म १३ हजार ५८९ रोजगारदाता र एक लाख ९३ हजार ९३६ जना योगदानकर्ता सूचीकृत भएका छन् । उनीहरूबाट चार अर्ब ७५ करोड २० लाखभन्दा बढी रकम कोषमा जम्मा भएको छ । हालसम्म ३४० जनाले चार करोड ६२ लाख २१ हजार १५३ रुपियाँ दाबी भुक्तानी पाएका छन् । यसमध्ये सबैभन्दा धेरै स्वास्थ्य उपचारअन्तर्गत भएको छ । सो शीर्षकमा हालसम्म दुई करोड ४९ लाख ९५ हजार रुपियाँ भुक्तानी गरिएको छ ।
कोषबाट आश्रित परिवार सुविधा २१ जनाले प्राप्त गर्न थालेका छन् । कोषले आफ्नो रोजगारी गुमे पनि योगदानलाई व्यक्तिगत रूपमा निरन्तरता दिएर कोषको सेवा लिन चाहनेले त्यस्तो सेवा पाउने गरी व्यवस्था गरिएको कोषका सहप्रवक्ता रेग्मीले जानकारी दिनुुभयो ।
सरकारले निजी क्षेत्रमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्यले वि.सं. २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको हो । पहिलो वर्षभित्रै दुुई लाख श्रमिकलाई सूचीकृत गर्ने लक्ष्यसहित सरकारले सुरु गरेको सो कार्यक्रममा अपेक्षाअनुसार भने श्रमिक तथा रोजगारदाताको सहभागिता अझै भएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?