logo
२०८१ बैशाख १३ बिहीवार



साइपाल पालिकामा चामल पठाउन सुरू

अर्थ |


साइपाल पालिकामा चामल पठाउन सुरू



सीता शर्मा

काठमाडौँ, चैत ७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको धनगढी शाखाले बझाङ जिल्लाको साइपाल गाउँपालिकामा चामल पठाउन सुुरु गरेको जनाएको छ । खाद्य कम्पनीको निर्देशनपछि धनगढी शाखाले भोकभरीको समस्या भएको भनिएको साइपाल पालिकामा चामल बिहीबार रातिदेखि पठाउन सुरु गरेको छ ।
कम्पनीका अनुसार चालू आर्थिक वर्षका लागि दुुई हजार क्विन्टल चामल पठाउने कोटा निर्धारण गरिएकोमा एक हजार ५०१ क्विन्टल पठाइसकेको छ भने बाँकी ४९९ क्विन्टल चामल जाने क्रममा छ । साइपाल गाउँपालिका हिमाली जिल्लाको सडक सञ्जालसँग नजोडिएकाले बिहीबार पठाएको चामल पुुग्न चार÷पाँच लाग्ने कम्पनीले जनाएको छ ।
साइपाल गाउँपालिकाका ६१० घरपरिवार भोकमरीको चपेटामा परेको भन्दै गाउँपालिका उपाध्यक्ष कल्पनादेवी बोहोरा चारवटा वडाका वडाध्यक्षसहितको टोली काठमाडौँ आइपुुगेपछि कम्पनीले भोकमरीको समस्याका रहेको पालिकामा चामल पठाउनका लागि धनगढीको शाखालाई निर्देशन दिएको हो ।
कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले कम्पनीको निर्देशनपछि धनगढी शाखाले चामल बझाङको साइपाल गाउँपालिकामा चामल पठाउन सुुरु गरेको जानकारी दिनुुभयो ।
साइपालको खाद्यान्न सङ्कटबारे जानकारी दिन काठमाडौँ आएको सो पालिकाका उपाध्यक्ष कल्पनादेवी बोहरासहितको टोलीले बिहीबार खाद्यकम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई भेटेर खाद्यान्नको अवस्थाबारे जानकारी गराए ।
कम्पनीका कार्यकारी अधिकृत पौडेलले उक्त पालिकामा थप एक हजार ५०० क्विन्टल चामल पठाउनका लागि धनगढी शाखालाई शुक्रबार स्वीकृति दिइसकेको जानकारी दिनुुभयो । कम्पनीसँग पर्याप्त खाद्यान्न भएकाले खाद्यान्न नभएर भोकमरीको अवस्थामा बस्न पर्ने अवस्था नआउने र आउन नदिने पौडेलको भनाइ छ ।
खाद्य कम्पनीका अनुुसार सरकारसँग धान, चामल र गहुँसहित तीन लाख १९ हजार ३२४ क्विन्टल खाद्यान्न मौज्दात छ । हाल सरकारले २३ जिल्लालाई दुर्गम भनी छुट्याएको छ ।
२३ जिल्लामा करिब ३४ लाख ९२ हजार २९१ जनसङ्ख्या र छ लाख ७० हजार घरधुरी छन । वार्षिक कोटा एक लाख ६४ हजार ९०० क्विन्टल चामल मात्रै छ । त्यसका लागि ४६ करोड अनुदान दिइएको छ ।
बझाङ जिल्लाको विकट साइपाल गाउँपालिकामा खाद्य कम्पनीले खाद्यान्न नपठाएर र स्थानीयको घरमा सञ्चित खाद्यान्न सकिएर प्रायः सधैँ भोकमरी हुने गरेको छ । गत वर्ष पनि यो गाउँपालिकामा खाद्यान्न अभाव भएको थियो । साइपालमा नेपाल खाद्य संस्थानको अस्थायी डिपो छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?