logo
२०८० चैत्र १६ शुक्रवार



सञ्चयकर्ताका लागि विद्युतीय माध्यमबाट लेखाङ्कन गर्ने प्रणालीको शुभारम्भ

अर्थ |


सञ्चयकर्ताका लागि विद्युतीय माध्यमबाट लेखाङ्कन गर्ने प्रणालीको शुभारम्भ


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १२ गते । महालेखा नियन्त्रकको कार्यालय र कर्मचारी सञ्चय कोषले सरकारी कर्मचारीको सञ्चय कोष, निबृत्तभरण कोष र सापटी भुक्तानी रकम तत्काल व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन गर्ने प्रणालीको शुभारम्भ गरेका छन् ।
महालेखा नियन्त्रकको कार्यालय अनामनगरमा बुधबार आयोजित कार्यक्रममा सो कार्यालय र सञ्चयकोषका पदाधिकारीले संयुक्तरुपमा सो प्रणालीको शुभारम्भ गरेका हुन् । अर्थ मन्त्रालयका राजस्व तर्फका सचिव तथा सञ्चय कोष कार्यालयका अध्यक्ष रामशरण पुडासैनीले कम्प्यूटर मार्फत ‘माउस क्लिक’ गरेर सो प्रणालीको शुभारम्भ गर्नुभयो ।
शुभारम्भ कार्यक्रममा सचिव पुडासैनीले विद्युतीय प्रणालीको विकासले कर्मचारीको खातामा रकम समयमा जम्मा हुने र चुस्त व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्युतीय प्रणालीले कर्मचारीलाई जिम्मेवार बनाउने र पारदर्शीता समेत कायम हुने उहाँले बताउनुभयो । सञ्चयकर्ताको सेवा प्रवाहमा समेत छरितोपन आउने सचिव पुडासैनीले चर्चा गर्नुभयो ।
महालेखा नियन्त्रक मधुकुमार मरासिनीले दुई वर्षको अथक प्रयासपछि विद्युतीय प्रणालीले साकार रुप लिएकोमा खुशी व्यक्त गर्नुभयो । कतिपय नागरिकको सोचाई सरकारी कामकाज चुस्त हुँदैन भन्ने अझै रहेपनि अव प्रविधिको विकासले सरकारी निकाय पनि आफूलाई विद्युतीय प्रणालीमा फड्को मारिसकेको बताउनुभयो । अब देशभरका दुई लाख ७१ हजार कर्मचारीको सञ्चय गरेको रकम डिजिटल लेखा प्रणालीमार्फत जम्मा हुने उहाँले प्रष्ट पार्नुभयो ।
हाललाई संघीय र प्रदेश कर्मचारीका लागि यो प्रणाली शुभारम्भ गरिए पनि निकट भविष्यमा पालिका, वडा स्तरमा समेत प्रणाली शुभारम्भ गरिने उहाँले विश्वास दिलाउनुभयो । 
सहलेखा महानियन्त्रक तथा प्रवक्ता ज्ञानेन्द्र पौडेलले कम्प्यूटरमा आधारित लेखा प्रणालीको शुभारम्भले काममा चुस्तता ल्याउने विश्वास व्यक्त गर्नुभयो । “यसअघि समयमा रकम दाखिला नहुने झन्झटिलो व्यवस्था थियो, अब त्यसमा चुस्तता आउँछ” उहाँले भन्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?