logo
२०८० चैत्र १५ बिहीवार



कोरोना बीमा दाबी चार अर्बभन्दा बढी

अर्थ |


कोरोना बीमा दाबी चार अर्बभन्दा बढी


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ११ गते । कोरोना बीमा दाबी रकम चार अर्ब रुपियाँमाथि लागेको छ । बीमा समितिका अनुसार कोरोना बीमा दाबी भुक्तानीका लागि चार अर्ब ५२ लाख ५० हजार रुपियाँ माग भएको छ । समितिका अनुसार काजगपत्र पूरा गरेका ४१ हजार २६१ जनाले दाबी भुक्तानीका लागि स्वीकृति पाएका छन् ।
कोरोना बीमा मापदण्डअनुसार निर्जीवन बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, बीमा कम्पनीहरूको महाविपत्ती कोष र बीमा समितिले भुक्तानी गर्नुपर्ने दायित्वअन्तर्गत रहेर बीमा पुलमा साढे तीन अर्ब रुपियाँ पूरा भइसकेको छ ।
अहिलेसम्म ४१ हजार २६१ जनाले दाबीका लागि स्वीकृति पाए पनि स्वीकृतिको लाइनमा ३५ हजारभन्दा धेरै फाइल छन् ।
कोरोना बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले पनि एक अर्ब रुपियाँ दिइसकेको छ । यसअघि ३० करोड रुपियाँ दिइसकेको कम्पनीले ७० करोड रुपियाँ पनि दिएपछि आफ्नो भागको रकम पूरा गरेको हो । पुनर्बीमा कम्पनीले पुलमा एक अर्ब रुपियाँ दिने भनिएको थियो । बीमा समितिले पनि एक अर्ब रुपियाँ पुलमा हाल्न लागेको छ ।
कोरोना बीमा पोलिसी ल्याउँदा बीमा शुल्कबाट प्राप्त भएको रकमबाट पहिला दाबी भुक्तानी गर्ने भनिएको छ । समितिका अनुसार अहिलेसम्म बीमा शुल्कबाट करिब एक अर्ब रुपियाँ उठेको छ ।
निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले आफ्नो महाविपत्ति कोषमा रहेको रकमबाट दाबी भुक्तानी गर्ने भनिएको यस्तो रकम पनि करिब एक अर्ब रुपियाँ हुने भनिएको छ । एक अर्ब रुपियाँको दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनी र त्यसपछिको एक अर्ब रुपियाँको दाबी भुक्तानीका लागि बीमा समितिले रकम प्रदान गरेपछि त्योभन्दा माथिको दाबी भुक्तानी परेमा नेपाल सरकारले दायित्व वहन गर्ने बताइएको छ ।

सात दिनभित्रै विवरण पठाउनुपर्ने
कोरोना बीमा दाबी भुक्तानीमा ढिलाइ भइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सात दिनभित्र बीमितको सही विवरण पठाउन निर्देशन दिएको छ ।
कोरोना बीमा दाबी भुक्तानी प्रमाणीकरणको क्रममा कतिपयको सङ्क्रमण पुष्टि भएको विवरण नै नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै मन्त्रालयले सात दिनभित्र बीमितको सही विवरण पठाउन निर्देशन दिएको हो । कोभिड–१९ परीक्षण गर्न अनुमति पाएका प्रयोगशालाहरूले परीक्षणको विवरण समयमै नपठाउँदा कोरोना बीमा दाबी भुक्तानीमा ढिलाइ भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सात दिनभित्र सोमबारभन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिएअनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै पठाउन निर्देशन दिएको छ ।
तोकिएबमोजिमको समयसीमा र ढाँचामा विवरण उपलब्ध नभएमा कोरोना बीमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिने मन्त्रालयको सूूचनामा उल्लेख छ । नियमित रूपमा तोकिएअनुसार रिपोर्टिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाहीसमेत गरिने मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?