logo
२०८१ बैशाख १३ बिहीवार



सात वर्षपछि नेपालमा देखियो कङकङ चिल

खुला |


सात वर्षपछि नेपालमा देखियो कङकङ चिल


चाँदनी हमाल

काठमाडौँ, फागुन ९ गते । कङकङ चिल सात वर्षपछि नेपाल आएको छ । सन् २०१३ मा देखिएको यो चिल सात वर्षपछि नेपालमा देखिएको हो ।
पृथ्वीको उत्तरी भूभाग चीनलगायतका देशमा रमाउने कङकङ चिललाई ह्वाइट टेल इगल भनिन्छ । सिकारी चराविद् डा. तुलसी सुवेदीले जाडो छल्न बसाइँसराइ गरेर नेपाल आउने क्रममा अन्नपूर्ण क्षेत्रको ठूलो खर्कमा यो चिल भेटिएको बताउनुभयो । उहाँले भदौपछि बसाइँसराइ गरेर नेपाल आउने सिकारी चरामध्ये दुर्लभ मानिने यो चरा विगत सात वर्षसम्म भने नेपालमा नभेटिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस पटक पनि जम्मा एउटा मात्र कङकङ चिल बसाइँ सरेर नेपाल आएको हो । हिमाली भेगमा जाडो बढेपछि तल झर्ने यो चिल नेपालको पहाडी भेगको सिमसार क्षेत्रमा रमाउने गर्छ । सन् २०१३ अघि पनि थोरै सङ्ख्यामा आउने गरेको थियो । त्यसपछि भने एकाधको सङ्ख्यामा धेरैपछि नेपालमा रेकर्ड भएको हो । माछा खान सिकार गरेर खान मन पराउने चिलले रसिया र जापानको चिसो भेगमा पुगेर बच्चा कोरल्ने गर्छ । नेपालमा छोटो समय बसेर उता लाग्छ ।
अरू चिलजस्तो बस्ती र जङ्गल धाएर साना जीवजन्तुको सिकार यसले गर्दैन । उहाँले बसाइँसराइ गर्ने मार्ग फरक हुँदै गएकाले पनि यो चरा नेपालमा कम आएको हुन सक्ने अनुमान गर्नुभयो ।
चराविद् सुवेदीले यस पटक मङ्गोलियाबाट आएको सिकारी चरा तोप बाज पनि नेपालमा एउटा मात्र भेटिएको जानकारी दिनुभयो । यसको सङ्ख्याको गिरावट हुँदै गएकाले पनि नेपालमा कम आउन थालेको अनुमान छ ।
यो चिल बिजुलीको खम्बामा बस्न मन पराउँछ, त्यसैले मङ्गोलियामै पनि धेरै सङ्ख्यामा करेन्ट लागेर मर्ने गरेको पाइएको छ । यसले पनि नेपालमा बच्चा कोरल्दैन । घुमेर मात्र फर्कन्छ । नेपालमा घुम्न आउने सिकारी चरामध्ये सुनौलो चिल, माउन्टेन हक इगल, इन्डियन ब्ल्याक इगलले नेपालमा बच्चा कोरल्ने गर्छ ।
नेपालको तराई भेगको रैथाने मानिने लघु महाचिल प्रजातिका केही बथान पनि अन्यत्रबाट यस समयमा नेपाल बसाइँ सरेर आएको छ । यी जस्तै रणमत्त महाचिल, जीवाहार महाचिलको केही हुल नेपाल आएको छ । यस वर्ष सबैभन्दा बढी चार हजारको सङ्ख्यामा गोमायु महाचिल नेपाल आएको छ । त्यस्तै हिमाली गिद्ध एक हजार छ सयको हाराहारीमा नेपालमा सिकार गर्न आइपुगेको छ ।
उहाँले छ हजारको सङ्ख्यामा सिकारी चरा नेपाल घुम्न आएको जानकारी दिनुभयो । सिकारी चरा वैशाखतिर आफ्नो देश फर्कने छन् । नेपाल आएका सिकारी चरा प्रायः खेतबारी र मानव बस्ती नजिक बस्न मन पराउँछन् । नेपाल आएको सिकारी चरा टाढा जान्छ कि जाँदैन भनेर गरिएको अध्ययनमा केही चरालाई विष हालेर मानिसले मारेको पाइएको छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?