logo
२०८१ बैशाख ८ शनिवार



पुरानै लयमा अन्तर्राष्ट्रिय व्यापार

अर्थ |


पुरानै लयमा अन्तर्राष्ट्रिय व्यापार



विश्वास रेग्मी

काठमाडौँ, फागुन ८ गते । कोरोना सङ्क्रमणका कारण खुम्चिएको अन्तर्राष्ट्रिय व्यापार आकार त्यसअघिकै अवस्थामा पुगेको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को माघसम्म कुल अन्तर्राष्ट्रिय व्यापार आठ खर्ब ७३ अर्ब ५६ करोड रुपियाँ पुगेको छ । गत माघमा यस्तो व्यापारको आकार आठ खर्ब ६८ अर्ब ५७ करोड रुपियाँ थियो । तुलनात्मक रूपमा चालू आवमा व्यापार अझ ०.५७ प्रतिशतले बढेको देखिन्छ ।
समीक्षा अवधिमा आठ खर्ब तीन अर्ब ६४ करोड रुपियाँको वस्तु आयात भएको विभागको तथ्याङ्क छ । गत माघको तुलनामा यो ०.०१ प्रतिशत मात्र वृद्धि हो । गत माघसम्म नेपालले आठ खर्ब तीन अर्ब ६० करोड रुपियाँको वस्तु आयात गरेको थियो । नेपालले चालू वर्ष माघसम्म सबैभन्दा धेरै ३९ अर्ब ७० करोड रुपियाँको डिजेल आयात गरेको छ ।
बन्दाबन्दीका कारण आवतजावत प्रतिबन्ध हुँदा डिजेलको आयात निकै घटेको थियो । अर्थतन्त्र चलायमान हुन थालेसँगै डिजेल आयात फेरि शीर्ष स्थानमा पुगेको छ । डिजेलपछि ३७ अर्ब ९८ करोड रुपियाँको अर्धप्रशोधित फलामका उत्पादन तथा स्टिलको आयात भएको तथ्याङ्कले देखाउँछ ।
कोरोना सङ्क्रमणका कारण बढेको भर्चुअल गतिविधिका कारण मोबाइल आयातमा भएको वृद्धिले यसको आयात पनि चुलिएको छ । माघसम्म २४ अर्ब रुपियाँको मोबाइल आयात भएको छ । मोबाइल नेपालबाट धेरै आयात भएका वस्तुको सूचीमा तेस्रो स्थानमा छ ।
मोबाइलपछि कच्चा भटमासको आयात सबैभन्दा बढी देखिन्छ । माघसम्म २० अर्ब रुपियाँको कच्चा भटमास आयात भएको छ । कच्चा भटमास आयात गरेर नेपालमा प्रशोधन गरी भारत निर्यात गर्ने प्रवृत्ति बढेसँगै कच्चा भटमासको आयात पनि बढ्न थालेको छ । भारतसँगको भन्सार सहुलियतको उपयोग गर्दै भटमास प्रशोधन गरेर भारतमा भटमास तेल निर्यातको काम हुँदा नेपालबाट निर्यात हुने सूचीमा यो पहिलो स्थानमा परेको छ । भटमासपछि १७ अर्ब २६ करोड रुपियाँको ग्यास आयात भएको छ ।
कोरोना सङ्क्रमणका बीच पनि नेपालको निर्यात बढेको देखिन्छ । गत माघको तुलनामा ७.६१ प्रतिशतले निर्यात बढेर ६९ अर्ब ९१ करोड रुपियाँ पुगेको छ । यद्यपि निर्यात वृद्धिको यो तथ्याङ्कबाट खुसी हुनुपर्ने अवस्था भने नरहेको अन्तर्राष्ट्रिय व्यापारका विज्ञ पोषराज पाण्डे बताउनुहुन्छ । “कच्चा भटमास ल्याएर नेपालमा प्रशोधन गर्ने अनि भारत पठाउने गर्दा मात्र निर्यात बढेको देखिएको हो,” उहाँले भन्नुभयो, “भारतले बन्द गर्नासाथ यो पनि पाम तेलकै अवस्थामा पुग्छध्र”
भन्सार विभागका अनुसार नेपालबाट निर्यात हुने सूचीको शीर्ष स्थानमा भटमास तेल नै रहेको छ । माघसम्म नेपालले १९ अर्ब ५९ करोड रुपियाँको भटमास तेल निर्यात गरेको छ । भारतमा नेपाललाई प्राप्त भन्सार छुट तथा सहुलियतका कारण यहाँबाट हुने निर्यात भारतीय बजारमा सस्तो पर्न जान्छ । नेपालमा उत्पादन नै नहुने पाम तेलमा पनि यस्तै सहुलियत उपयोग गरेर भारत निर्यात हुने गथ्र्यो । जसले गर्दा आर्थिक वर्ष २०७५÷७६ मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पाम तेल शीर्ष स्थानमा थियो ।
भटमासपछि चार अर्ब २८ करोड रुपियाँको अलैँची निर्यात भएको छ । त्यसपछि चार अर्ब १७ करोड रुपियाँको गलैँचा नेपालबाट निर्यात भएको तथ्याङ्क छ । दुई अर्ब ७५ करोड रुपियाँको कालो चिया निर्यात हुँदा दुई अर्ब १८ करोड रुपियाँको ऊन निर्यात भएको देखिन्छ ।
अन्तर्राष्ट्रिय व्यापारको आकार गत वर्षजस्तै हुँदा अर्थतन्त्र लयमा आएको देखिए पनि संरचनागत रूपमा भने त्यस्तो नभएको पाण्डेको तर्क छ । खासगरी अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा आयात बढेको देखिने भए पनि त्यसले व्यापार सामान्य भएको बुझ्न नसकिने उहाँको मत छ । यद्यपि कोरोना सङ्क्रमणका कारण बन्द भएका उद्योग पुनः सञ्चालनका क्रममा रहेकाले औद्योगिक कच्चा पदार्थको आयातमा भएको वृद्धिले अर्थतन्त्र चलायमान हुँदै गएको बुझ्न सकिने उहाँले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?