logo
२०८० चैत्र १६ शुक्रवार



पाँच मेगावाटको सोलार प्लान्ट निर्माण

अर्थ |


पाँच मेगावाटको सोलार प्लान्ट निर्माण


तनहुँ समाचारदाता

तनहुँ, फागुन १ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा सोलारबाट पाँच मेगावाट विद्युत् उत्पादन हुने भएको छ । सोलार फार्म प्रालिले सोलारबाट विद्युत् उत्पादनका लागि अनुमति लिई थालिएको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले अबको तीन महिनाभित्र बिजुली उत्पादन गर्नेगरी तयारी भइरहेको कम्पनीका निर्देशक मनकारी गुरुङले जानकारी दिनुभयो । गुरुङले भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमणका कारण अवरोध भएकाले केही समय ढिला भए पनि नेपाली नयाँ वर्षमा प्रयोग गर्न मिल्नेगरी विद्युत् उत्पादन हुनेछ । ”
बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस हाताभित्र निर्माण भइरहेको फार्ममा हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । प्रालिकाअनुसार उत्पादित पाँच मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणका राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी सहमति लिई काम थालिएको थियो ।
कम्पनीले उत्पादन गरेको विद्युत् झरौटामा रहेको ट्रान्सफर्मरमा जडान गरिने योजना बनाएको छ । गत वर्ष नै बिजुली उत्पादन गर्ने लक्ष्य रहेको भए पनि कोरोना सङ्क्रमणले काम प्रभावित हुँदा निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।
आयोजना १०० रोपनी क्षेत्रमा फैलिएको छ । आयोजनाका लागि करिब ४५ करोड रुपियाँ लागत अनुमान गरिएकामा हाल बढेर करिब ५५ करोड रुपियाँ पुग्ने अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?