logo
२०८१ बैशाख ७ शुक्रवार



कालीमाटीमा किसानका लागि बेग्लै स्टल

अर्थ |


कालीमाटीमा किसानका लागि बेग्लै स्टल


सीता शर्मा

काठमाडौँ, माघ २३ गते । देशकै ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा थोक बजारमै किसानका लागि स्टल उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । फलफूल तथा तरकारी बजार विकास समितिले किसानको गुनासो सम्बोधन गर्नेगरी पहिलो पटक १२ वटामा स्टल किसानलाई उपलब्ध गराउने तयारी गरेको हो ।
समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले कालीमाटी तरकारी बजारमा पहिलो पटक किसानका लागि थोकमै स्टल दिने तयारी गरिएको र यो अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बजारमा किसान बजार सञ्चालन गर्ने कार्यविधि तयार गरिसकेको छ । कार्यविधिअनुसार तोकिएका स्टलमा उत्पादन किसानले सीधै आएर आफ्ना सामान बिक्री गर्नसक्ने छन् ।
कार्यविधि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृति हुनेबित्तिकै कार्यान्वयनमा आउने कार्यकारी निर्देशक भट्टराईले जानकारी दिनुभयो । किसान बजार खोल्नुपर्छ भन्नेमा कृषिमन्त्री, कृषि सचिवलगायत सबै भएकाले यसको स्वीकृतिमा कुनै समस्या नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
हाल समितिमा अध्यक्ष पद खाली भएको हुँदा स्वीकृतिमा केही ढिला भएको भन्दै उहाँले अध्यक्ष आउनेबित्तिकै स्वीकृत भएर कार्यान्वयनमा जाने जानकारी दिनुभयो । समितिको अध्यक्षमा कृषि मन्त्रालयको सहसचिव रहने व्यवस्था रहेको र बहालवाला अध्यक्ष सचिवमा बढुवा भएसँगै उक्त पद खाली भएको समितिले जनाएको छ ।
उक्त किसान कालीमाटी तरकारी बजार स्थापनाको अवसर पारेर यही फागुन १ देखि नै सञ्चालन गर्ने तयारी समितिले गरेको जनाएको छ ।
कार्यविधिअनुसार थोक बजारमा रहेका चार सयभन्दा बढी स्टलमध्ये १२ वटा स्टल किसानलाई उपलब्ध गराइनेछ । त्यसमा एउटा स्टल विशेष टाढाबाट आउने किसानका लागि राखिनेछ भने बाँकी ११ वटा स्टल ‘फस्र्ट कम फस्र्ट व्यापार’का आधारमा दिने व्यवस्था गरिने जनाइएको छ ।
कार्यकारी निर्देशक भट्टराईले यस प्रकारको स्टलको व्यवस्थाले किसान र उपभोक्ता दुवैलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार थोक बजारमा प्रवेश गर्ने किसानले कम्तीमा पनि दुई मेट्रिक टन र बढीमा १०÷१२ मेट्रिक टनसम्म तरकारी ल्याउनुपर्नेछ । किसानले स्टल प्रयोग गरेबापत किसानलाई प्रतिकेजी २५ पैसाका दरले समितिलाई बुझाउनुपर्ने पनि व्यवस्था गरिएको छ ।
कालीमाटीमा साना किसानका लागि यसअघि नै बजारको व्यवस्था गरिएको छ तर त्यो बजारमा अधिकांश त्यहीँका व्यापारीले नै किसान भन्दै प्रयोग गर्दै आएका छन् । कार्यकारी निर्देशक भट्टराईले थोक बजारभित्र सञ्चालन गरिने किसान स्टलमा निश्चित मापदण्ड तोकिएकाले व्यापारीले त्यहाँ व्यापार गर्न पाउँदैनन् ।
कालीमाटीमा ४५४ वटा थोक पसलका र खुद्राका ६१ वटा स्टल छन । बजारमा साना किसान बजार पनि छ । त्यो बजारमा व्यापार गर्नेले एक पटक प्रवेश गर्दा १० रुपियाँ तिर्नुपर्छ ।

आयात र कारोबार दुवै घट्यो
कोभिड–१९ ले गर्दा यस वर्ष बजारमा तरकारी आयात र कारोबारमा कमी आएको छ । कालीमाटी तरकारी बजार विकास समितिले बजार स्थापना दिवसका अवसरमा बिहीबार तरकारी बजार परिषद्मा आयोजित सार्वजनिक सुनुवाइमा सोबारेमा जानकारी दिइएको हो ।
समितिका अनुसार कालीमाटी बजारमा आर्थिक वर्ष २०७७÷७८ को पहिलो छ महिनामा एक लाख चार हजार १२४ मेट्रिक टन मात्रै तरकारी भित्रिएको छ । गत आर्थिक वर्षको पहिलो छ महिनामा एक लाख ३४ हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?