logo
२०८१ बैशाख १२ बुधवार



भागी विवाहले कानुन उल्लङ्घन

खुला |


भागी विवाहले कानुन उल्लङ्घन
सांकेतिक तस्बीर


सीता शर्मा

काठमाडौँ, माघ २३ गते । कानुनअनुसार उमेर नपुगी विवाह गर्ने तथा गराउनेलाई कैद सजाय जरिवानाको व्यवस्था गरिए पनि बालविवाह रोकिएको छैन । कानुनले २० वर्ष उमेर नपुुगी गरिएको विवाहलाई वैधानिकता दिएको छैन ।
बालबालिका खोजतलास केन्द्रका प्रमुख रुद्रकुमार गिरीको अनुभवमा फेसबुकमा चिनजान भएपछि केटा र केटी विवाहका लागि भाग्ने तथा अभिभावकले हराए भनेर उजुरी गर्ने क्रम
कोरोना महामारीमा भएको बन्दाबन्दीपछि बढेको छ ।
गत कात्तिकमा भएको काठमाडौँकै घटना सुनाउँदै उहाँले भन्नुभयो, “काठमाडौँ पशुपति आसपासकै १४ वर्षीया जुम्लिया किशोरी एकै पटक हराएको उजुरी केन्द्रमा आयो । केन्द्रले खोजी गर्दा एउटी किशोरी फेसबुकबाट चिनजान भएका कञ्चनपुरका १६ वर्षका किशोरसँग विवाह गरेर कञ्चनपुर पुगेको पाइयो भने अर्की कालोपुलका १७ वर्षका किशोरसँग गएको पाइयो । उनीहरू सबैको विवाह गर्ने उमेर नभएकाले परिवारमा पुनर्मिलन गराउन सफल भयौँ । ”
आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ को पुससम्मको नेपाल प्रहरीको तथ्याङ्क हेर्दा पनि उमेर नपुगी विवाह गर्नेको सङ्ख्या बढेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामै प्रहरीमा ५० वटा बालविवाहका उजुरी दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार आ.व. २०७५/७६ मा ८४ वटा र २०७६/७७ मा ६५ वटा उजुरी दर्ता भएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले पछिल्लो तथ्याङ्कले बालविवाह कानुनी रूपमा निषेध गरिए पनि पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग गरेर बालविवाह गर्ने क्रम बढेको बताउनुभयो । पछिल्लो समयमा मोबाइल र फेसबुकको प्रयोग गरेर हुने बालविवाहले समस्या थपिएकाले यस्ता गतिविधि रोक्न विद्यालयले विशेष सचेतनाका कार्यक्रम राख्नुपर्ने देखिएको उहाँको भनाइ छ ।
नेपालले दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रोशनी श्रेष्ठले बालविवाहका स्वरूप बदलिएकाले नेपालले बालविवाह नियन्त्रण गर्न लिएको लक्ष्य प्राप्त गर्न सजिलो नभएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?