logo
२०८१ बैशाख ११ मंगलवार



तेइस हजार मेट्रिक टन धान खरिद

अर्थ |


तेइस हजार मेट्रिक टन धान खरिद



सीता शर्मा

काठमाडौँ, माग २२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म २३ हजार मेट्रिक टन धान खरिद गरेको जनाएको छ । विगत वर्षभन्दा एक साता ढिला गरेर धान खरिद गर्न सुरु गरेको कम्पनीले यो वर्ष ६० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म २३ हजार २५२ मेट्रिक टन खरिद गरेको हो ।
कम्पनीका अनुसार अहिलेसम्म सबैभन्दा बढी मोटा धान लगभग साढे ११ हजार मेट्रिक टन र मध्यम धान लगभग १० हजार मेट्रिक टन र मसिनो लगभग ९० मेट्रिक टन खरिद भएको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले महेन्द्रनगर, नेपालगन्ज, राजापुर, धनगढीबाट मोटा र बिर्तामोड, विराटनगर, लाहान र जनकपुरबाट मध्यम वा सोना मन्सुली धान खरिद गरिएको जानकारी दिनुभयो । यस्तै, बिर्तामोड, विराटनगर, वीरगञ्ज र जनकपुरबाट मसिनो धान खरिद भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
कम्पनीले पहिलो पटक जुम्लाबाट ३०० मेट्रिक टन मार्सी धान खरिद गर्ने योजना अनुरूप खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले अर्को सातादेखि मार्सी धान खरिद थाल्ने तयारी गरेको पनि जनाइएको छ ।

मार्सी चामल धमाधम बिक्री
कम्पनीका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले सुवेदीले पहिलो पटक कम्पनीले २७ मेट्रिक टन जुम्लाको मार्सी चामल खरिद गरेर बिक्री सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका थापाथली, सूर्यविनायक, प्रयाग पोखरी, नख्खुबाट प्रतिकेजी २२५ रुपियाँमा जुम्ली मार्सी बिक्री भइरहेको छ ।
कम्पनीले एक साताको बीचमा पाँच मेट्रिक टन चामल बिक्री गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, मार्सी चामल अझै ल्याएर बिक्री गर्न सकिन्छ । कम्पनीले बजारमा प्रतिकेजी २२० रुपियाँ प्रतिकेजीमा बिक्री भएको कर्णालीको सिमी खाद्य कम्पनीले प्रतिकेजी १२० रुपियाँमा बिक्री गर्दै आएको जनाएको छ ।
सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७३५, मध्यम धानको दुई हजार ८८५ रुपियाँ तोकेको छ । यो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा प्रतिक्विन्टल २०० रुपियाँ बढी हो । कम्पनीले यस वर्ष धान खरिदका लागि एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार रुपियाँ छुट्याएको छ ।
यस्तै कम्पनीले यो वर्ष २५ हजार मेट्रिक टन चामल खरिदका लागि करिब एक अर्ब २६ करोड ९२ लाख रुपियाँ छुट्याएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?