logo
२०८० चैत्र १५ बिहीवार



दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

प्रोटोकलमा हस्ताक्षर आज

अर्थ |


दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने



गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ८ गते । इजरायलमा नेपाली कामदार पठाउन दुई देशबीच भएको सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा बिहीबार हस्ताक्षर हुने भएको छ । कार्यान्वयन प्रोटोकलमा इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत हन्नान गोडेर गोल्डबर्गर र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले हस्ताक्षर गर्नुहुने छ ।
नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार दुई देशबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर हुन लागेको हो । विभागका महानिर्देशक दाहालले प्रोटोकलमा हस्ताक्षरपछि एक÷दुई साताबाट श्रमिक छनोट सुरु हुने र डेढ÷दुई महिनाभित्र पहिलो चरणका लागि तोकिएका पाँच सय जना इजरायल जान सुरु हुने जानकारी दिनुभयो ।
प्रक्रियाबाट इजरायल गएकाले आ–आफ्नो क्षेत्रमा के कस्तो इमानदारी देखाउन सक्छन्, त्यही आधारमा पछि थपिने सङ्ख्याको टुङ्गो लाग्ने उहाँको भनाइ छ । नेपालबाट इजरायल सरकारले केयर गिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता सम्पन्न भएको थियो ।
गत असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जना शाक्य र इजरायलका परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायली नागरिक सरहको सेवा सुविधा दिने गरी श्रम सम्झौता भएको थियो । श्रम मन्त्रालयले सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुने गरी कार्यविधि तयार गरेको जनाएको छ ।
श्रम मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाइएको छ । सम्झौताअनुसार नेपाली श्रमिकले इजरायलको केयर गिभर क्षेत्र, कृषि क्षेत्र, होटल र रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा रोजगारीका अवसर पाउने छन् तर प्रत्येक क्षेत्रमा रोजगारीको अवसर खुल्नका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया खुला हुनेछ ।
यसअन्तर्गत पहिलो चरणमा केयर गिभरको क्षेत्रमा पाँच सय नेपाली श्रमिक इजरायलले लैजाने छ । नेपाली श्रमिकलाई इजरायल पठाउने काम वैदेशिक रोजगार विभागले गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?