logo
२०८१ बैशाख ७ शुक्रवार



निगमको रक्सौल डिपो बन्द

मासिक एक करोड बचत हुने

अर्थ |


निगमको रक्सौल डिपो बन्द


लक्ष्मण दर्नाल

काठमाडौँ, माघ ६ गते । रक्सौल डिपो बन्द भएपछि नेपाल आयल निगमलाई मासिक एक करोड रुपियाँ बचत हुने भएको छ । रक्सौल डिपोबाट मासिक ४० हजार किलोलिटर डिजेल नेपाल आउने गरेकामा उक्त डिजेल पाइपलाइनबाट ल्याएपछि ढुवानी भाडाबापतको रकम बचत हुँदा निगम नाफामा गएको हो । जसअनुसार हालकै अवस्थामा पनि निगमलाई वार्षिक १२ करोड रुपियाँभन्दा बढी नाफा हुनेछ ।
मोतीहारी–अमलेखगञ्ज पाइपलाइन पूर्ण रूपमा सञ्चालन भएपछि रक्सौल डिपोको औचित्य समाप्त भएको नेपाल आयल निगमले जनाएको छ । तीन वर्षअघि नै नेपाल र भारतका मन्त्री तथा सचिवस्तरीय बैठकमा रक्सौल डिपो हटाउने सहमति भएको थियो ।
हवाई इन्धन पाइपलाइनबाट ल्याउन नथालिएकाले तत्कालका लागि हवाई इन्धन मात्र रक्सौल डिपोबाट ल्याइनेछ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भन्नुभयो, “पाइपलाइन पूर्ण रूपमा चालू भएपछि रक्सौल डिपोको औचित्य रहेन, पहिल्यै बन्द गर्न खोजिएको थियो तर हामीले पाइपलाइनको पूर्ण सञ्चालन र भण्डार वृद्धि नभएसम्म बन्द गर्न दिएका थिएनौँ । ”
इन्डियन आयल कर्पोरेसनले दुई वर्षदेखि सुरक्षाका कारण उक्त डिपो सञ्चालनमा समस्या भएको जनाएको थियो । नेपाल आयल निगमले आइतबार उक्त डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको हो ।
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीलाई निगमको २ नम्बर प्रादेशिक कार्यालयबाट खरिदको व्यवस्था गरिएको छ । यसअघि रक्सौल नाकाबाट लोड लिएर निगमको वीरगञ्ज शाखा कार्यालयबाट बिलिङ गर्दै आएको पेट्रोलियम पदार्थका अधिकृत बिक्रेताले अब २ नम्बर प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
रक्सौल डिपोबाट कारोबार गर्दै आएका पेट्रोलियम डिलर्स एसोसिएसन, बिक्रेता तथा स्थानीय प्रशासनबीच निगमले स्थानीय तहमै छलफल गरेको थियो । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अधिकतम उपयोग नहुँदासम्म वा इन्डियन आयल कर्पोरेसनले मोतीहारी डिपोको संरचना निर्माण कार्य पूरा नभएसम्म पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुने तथा निगमको लागत बढ्ने सम्भावना रहेको निगमले जनाएको छ ।
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द भएपछि बारा र पर्साका अधिकृत बिक्रेताले पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनको समन्वयमा प्रदेश २ प्रादेशिक कार्यालयबाट खरिद गर्ने सहमति भएको छ । गत महिना अमलेखगञ्ज डिपोबाट एक लाख किलोलिटर पेट्रोलियम पदार्थ आपूर्ति गर्न रक्सौल डिपोबाट ४० हजार किलोलिटर र पाइपलाइनबाट ६० हजार किलोलिटर आयात भएको निगमको रेकर्ड छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?