logo
२०८० चैत्र १६ शुक्रवार



डन्डी उद्योगले अटेरी गरे : वाणिज्य विभाग

अर्थ |


डन्डी उद्योगले अटेरी गरे : वाणिज्य विभाग


सीता शर्मा

काठमाडौँ, माघ ५ गते । फलामे डन्डी उद्योगीले सरकारको निर्देशनमा अटेरी गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे डन्डी उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न दिएको निर्देशन अधिकांश उद्योगीले अटेरी गरेका हुन् ।
डन्डीको भाउ बढेको गुनासो आउने क्रम बढेसँगै विभागले डन्डी उद्योगीसँगको छलफलपछि एक साताभित्र भाउ बढ्नुको कारण खुल्ने आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको थियो । विभागले देशभर सञ्चालित २१ वटा डन्डी उद्योगमा पत्रचार गरेर एक साताभित्र विवरणसहित विभागमा उपस्थित हुन निर्देशन दिएकोमा अहिलेसम्म चार÷पाँचवटा उद्योगले मात्रै विवरण पेस गरेको जनाएको छ ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले डन्डी उद्योगीसँग नम्र रूपमा प्रस्तुत भएर एक साताभित्र मूल्य बढ्नुको कारण पेस गर्न भनेर दिएको निर्देशनमा अधिकांशले अटेरी गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, विवरण बुझाउने आज अन्तिम दिन हो, सारै सानो सङ्ख्याबाट मात्रै विवरण आएको छ । अधिकांश आउनुभएन । हामी राम्रो गर्ने उद्योगीलाई सहयोग गर्छौं, असहयोग गर्नेलाई कानुनी प्रक्रियामा जान बाध्य हुन्छौँ, यो वातावरण नबनोस् भन्ने हो ।
उद्योगीहरूले आन्तरिकभन्दा पनि बाह्य कारणले गर्दा डन्डीको भाउ बढेको दाबी गर्दै आएका छन् । प्रिमियर स्टिल उद्योगका सञ्चालक पवन सारडाले भाउ बढ्नुको कारण नेपाली उद्योगीले गर्दा नभएर विदेशबाट आउने कच्चा पदार्थको भाउ बढेकाले यस असर नेपालमा परेको बताउनुभयो ।
डन्डी उत्पादनका लागि सबै कच्चा पदार्थ विदेशबाट ल्याउनु पर्ने र त्यस्तो कच्चा पदार्थ कोभिड–१९ पछि अन्तर्राष्ट्रिय बजारमै महँगो भएको उहाँको भनाइ छ । उहाँले आफूले भने विभागबाट आएको पत्र प्राप्त गरेको दुई दिनमै आवश्यक विवरण पेस गरेको जानकारी दिनुभयो ।
अधिकांश उद्योगले विभागको निर्देशन नमानेकोमा विभागका महानिर्देशक सुवेदीले विभागलाई सोच्न बाध्य बनाएको घटना बताउनुहुन्छ । कच्चा पदार्थमा बढेको मूल्य र यहाँ उत्पादन गर्दा बढेको लागतको सबै रिपोर्ट बुझाउन मौखिक मात्रै नभई पत्रचार नै गर्दा पनि नआएको उहाँको भनाइ छ ।
विभागका अनुसार डन्डीको भाउ अन्तर्राष्ट्रियस्तरमै महँगो भएको विभागको अनुगमनबाट पनि पाइएकाले कति बढ्नु पथ्र्यो र कति बढ्यो भन्ने मात्रै अहिलेको खोजीको विषय हो । पछिल्ला दुई÷तीन महिनामा डन्डीको भाउ प्रतिकेजीमा ३० देखि ३५ रुपियाँसम्म बढेको पाइएकाले यसको जवाफमा रिपोर्टमा आउने विश्वास विभागले
गरेको थियो ।
निर्माण व्यवसायीले भने डन्डीमा महिनैपिच्छे भाउ बढेको भन्दै विरोध गर्दै आएका छन् । कोरोना महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्याधिक रूपले मूल्य वृद्धि गरिएको उनीहरूको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?