logo
२०८१ बैशाख १३ बिहीवार



उद्योग व्यवसाय सञ्चालनमा सुधार

५४ प्रतिशत पूर्ण सञ्चालन

अर्थ |


उद्योग व्यवसाय सञ्चालनमा सुधार


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । मुलुकमा कोरोना सङ्क्रमण सुरु भएकयता उद्योग व्यवसायको सञ्चालनको स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशन गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’ का अनुसार २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखिएको छ ।
सर्वेक्षणले ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन, कारोबार स्थिति सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।
सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोभिड–१९ महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्नुका साथै नेपालले पनि महामारी रोकथामका लागि चैत ११ गतेदेखि बन्दाबन्दी लगायतका उपायहरू अवलम्बन गरेको थियो । कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र बैङ्कले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी, व्यवसायीहरूबाट तथ्याङ्क सङ्कलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
सर्वेक्षणले बन्दाबन्दीपछि औसतमा ६१.०३ प्रतिशत उद्योग, व्यवसाय सञ्चालन हुन नसकेका र ४.१ प्रतिशत उद्योग, व्यवसाय मात्र पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको थियो । नेपाल सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसायहरू क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् ।
व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थितिबारे अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्याङ्क सङ्कलन गरी तुलनात्मक अध्ययन गर्न २०७७ कात्तिक १३ देखि २०७७ मङ्सिर २४ सम्म पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।
सर्भेक्षणमा गत असारको तुलनामा उद्योग, व्यवसायीहरूले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए पनि कोभिड महामारी अगाडिको अवस्थामा भने पुग्न सकेको छैन । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग, व्यवसायले मङ्सिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला उद्योगहरूले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । मझौला उद्योगको नमुना सङ्ख्यामा होटल तथा रेस्टुरेन्ट क्षेत्रका उद्योग, व्यवसायहरूको बाहुल्यता रहेकाले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएका अनुमान सर्भेक्षणको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?