logo
२०८१ बैशाख ७ शुक्रवार



कोरियाबाट अनुमति नआउँदा रोस्टरका युवा आन्दोलित

अर्थ |


कोरियाबाट अनुमति नआउँदा रोस्टरका युवा आन्दोलित


सीता शर्मा

काठमाडौँ, पुुस २७ गते । रोजगार अनुुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २०१७, २०१८ र २०१९ का लागि भाषा परीक्षण उत्तीर्ण गरेका तर जान नपाएकाले दक्षिण कोरिया छिटो जान पाउनुपर्ने माग गर्दै ईपीएस शाखामा आइतबार विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी युवाले भाषा र सीप परीक्षण उत्तीर्ण गरेरसमेत रोजगारीमा जान नपाएको भन्दै वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखालाई छिटो पहल गरेर जाने वातावरण बनाउनुपर्ने माग गरेका हुन् ।
उनीहरूले ईपीएस छिटो जाने वातावरण बनाउन, सबै प्रक्रिया पार गरेकालाई लामो समय नअल्मल्याउन, पुराना नपठाएसम्म नयाँका लागि परीक्षा लिन नपाइनेलगायतका माग राखेका छन् । साथै विरोध कार्यक्रममा सहभागी केही युवाले आफूहरूमध्ये केहीको लेबर कन्ट्रयाक्ट सकिन लागेकाले नवीकरणका लागि समेत पहल गर्न ईपीएस शाखासँग माग गरेका छन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भाषा परीक्षा उत्तीर्ण गरेर जाने तयारीमा रहेका युवालाई छिट्टै लैजानुपर्ने भन्दै निरन्तर लबिङ गर्दै आएको तर यो विषय नेपाल सरकारले चाहेर मात्रै नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रोतर्फबाट निरन्तर पहल गरिरहेका छौँ, श्रमिक माग गर्ने देशबाट अनुमति आउनु प¥यो, आएको छैन, केही समय लाग्न सक्छ, धैर्य गर्नुपर्छ । ”
दक्षिण कोरियाको मानव संसाधन विभाग
(एचआरडी)का प्रतिनिधिसँग विभागले नियमित सम्पर्क गरिरहेको र उनीहरूले कोरोनाको असर कम भएपछि लैजाने प्रतिक्रिया दिएको जानकारी दिनुभयो । ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले नेपालले भाषा परीक्षा उत्तीर्ण भएका सबै युवालाई रोजगारीका लागि मार्ग प्रशस्त गर्न कोरियासँग आग्रह गरिरहेको बताउनुभयो । भाषा परीक्षा उत्तीर्ण सबै युवा कोरिया जाऊन् भनेर प्रयास निरन्तर जारी रहेको उल्लेख गर्नुभयो ।
भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका युवा जाने क्रम हुँदाहुँदै नेपालमा बन्दाबन्दी सुरु भएको थियो । अझै पनि रोस्टरमा रहेका १० हजार युवा कोरिया जाने प्रतीक्षामा छन् । तीमध्ये पाँच हजार हाराहारी छनोटमा परिसकेका छन् । रोस्टर अवधि दुई वर्षको हुन्छ । दुई वर्षभित्र कोरियाली रोजगारदाताले छनोट गरेनन् भने उनीहरू कोरिया जान पाउँदैनन् । कोरियाले कृषि र औद्योगिक क्षेत्रमा नेपालबाट कामदार लैजाँदै आएको छ ।

नयाँ परीक्षार्थी झनै अलमलमा
कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रूपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली श्रमिक लैजाँदै आएको थियो । परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी गरेका युवा अलमलमा छन् ।
कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ । कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर टुङ्ग्याउन सकेको छैन । यस्तै परीक्षा प्रणालीका बारेमा पनि निक्र्योल हुनसकेको छैन । कोभिड–१९ का कारण सन् २०२० मा पनि भाषा परीक्षा सञ्चालन हुन सकेन ।
गत वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष (सन् २०२१ मा) परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट नआएको शाखाका निर्देशक गौतमले बताउनुभयो । कोरियाले यसपटकदेखि ‘कम्प्युटर बेस्ड टेस्ट’ (सीबीटी) परीक्षा लिने तयारी गरेको छ । यसअघि ‘पेपर बेस्ड टेस्ट’
(पीबीटी) परीक्षा हुँदै आएको थियो । यस पटकदेखि पीबीटी नगरी सीबीटी परीक्षा गर्ने जानकारी आएको शाखाले जनाएको छ ।

नयाँ कोटा आउन बाँकी
दक्षिण कोरियाले सन् २०२१ मा विभिन्न १६ मुलुकबाट ५२ हजार आप्रवासी श्रमिक लिने घोषणा गरेको छ । कोरोनाका कारण कोरियाले गत वर्षको तुलनामा चार हजार कम विदेशी श्रमिक लिन लागेको बताइएको छ । देशगत रूपमा श्रमिकको कोटा बाँडफाँड गरेर अहिलेसम्म नपठाएको निर्देशक गौतमले जानकारी दिनुभयो । कोरोनापछि भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका युवा कोरिया जाने क्रम रोकिएको छ ।
सन् २००८ देखि हालसम्म भाषा परीक्षा उत्तीर्ण गरी ६२ हजार ८५२ पुरुष र चार हजार २० महिला गरी कुल ६६ हजार ८७२ युवा कोरिया गइसकेका छन् । कोरोना महामारीबीच सन् २०२० मा एक हजार २७ जना कोरिया पुगेका छन् । नेपालबाट वार्षिक औसत आठ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?