logo
२०८१ बैशाख ८ शनिवार

  दृश्य समाचार  



कृषिले जुकेपानी बन्यो ‘तरकारी गाउँ’, काँक्रो बेचेर तीन करोडको कमाइ

अर्थ |
पढ्नै पर्ने |


कृषिले जुकेपानी बन्यो ‘तरकारी गाउँ’, काँक्रो बेचेर तीन करोडको कमाइ


ज्ञानु पंगेनी
कावासोती , पुष २४ गते । केही वर्ष अघिसम्म गाउँ छाडेर बजार झर्ने चाहाना बोक्ने जुकेपानीका बासिन्दा अहिले जग्गा किन्छौ भन्दा पनि दिन्नौ भन्छन् । बाटोघाटो पानीको सुविधा नहँुदा , आयश्रोतको कुनै माध्यम पनि नहुँदा सबै बेचबिखन गरी बजार झरेर केही व्यापार व्यवसाय गर्न पाए हुन्थ्यो भन्नेहरू नै अहिले गाउँम तरकारी बेचेर भ्याइनभ्याइ छन् ।


नवलपरासी पूर्व (नवलपुरको) हुप्सेकोट गाउँपालिका एकमा पर्ने जुकेपानीमा गाउँभरी तरकारी खेती गरिएकाले अहिले जुकेपानी ‘तरकारी गाउँ’ भनेर परिचित बनेको छ । जुकेपानीका अधिकाशंको जीवन स्तरमा तरकारी खेतीले परिवर्तन ल्याएको छ ।
विगतमा मेलामजदुरी र मदिरा बेचेर गुजारा गर्दै आएका यहाँका बासिन्दालाई अहिले तरकारी बेच्न नै भ्याईनभ्याई हुन्छ । तीन वर्ष अघिसम्म झुप्रा देखिने यहाँका घर अहिले पक्कीमा परिणत भएका छन् ।
जुकेपानीको करीब एक सय बिघा क्षेत्रफलमा अहिले तरकारी खेती हुँदै आएको छ । त्यसमा पनि काउलेट ोलमा मात्रै करीब ६० बिघा क्षेत्रफलमा तरकारी खेति गरिएको छ । जुकेपानीका करीब दुई सय किसान व्यवसायिक रुपमै तरकारी खेति गर्दै आएका छन् । जुकेपानीमा रहेको लुम्बिनी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका व्यवसायीक कृषक गन बहादुर सारु मगरका अनुसार सहकारीमा आबद्ध रहेका शेयर सदस्य मध्ये करीब दुई सय सदस्य व्यवासायीक रुपमै तरकारी खेतीमा संलग्न छन् । सहकारीले कृषकलाई प्रबद्र्धन गर्न सहुलियत दरमा ऋण लगानी , विभिन्न तालिम र बीउबीजन सहयोग गर्दै आएको छ । जुकेपानीबाट वर्षेनी चार करोडसम्मको काक्रो मात्रै बिक्री हुँदै आएको मगरले जानकारी दिनुभयो । यहाँको काँक्रो बुटवल , पोखरा ,नारायणगढ काठमाण्डौँ लगायतका बजारमा खपत हुँदै आएको मगरले बताउनुभयो । काउलेटोलबाट मात्रै वार्षिक तीन करोडको काँक्रो बिक्री हुँदै आएको उहाँ बताउनुहुन्छ । अन्य तरकारीको तुलनामा यहाँ काँक्रो खेती बढी लगाउने गरिएको छ । हिँउदको समयमा यहाँ लोकल भक्तपुरे काक्रो खेती गरिन्छ भने वर्षाको समयमा हाईब्रिड जातको काँक्रो खेती गरिन्छ । त्यसबाहेक यहाँ टमाटर , खुर्सानी , आलु ,काउली , बोडी , घिउसिमी , घिरौला , केराउ लगायतका तरकारी खेती गरिन्छ ।
यहाँका केही कृषकले करीब नौ वर्षअघिदेखि नै तरकारी खेती सुरु गरेका थिए । तर , यसरी गाउँका अधिकाशंले व्यवसायीक रुपमै तरकारी खेती गर्न थालेको भने , करीब तीन वर्ष भएको छ ।
विभिन्न संघसंस्थाले संञ्चालन गरेका परियोजनामा आबद्ध भएपछि कृषि भ्रमण , व्यवसायिक तालिमहरु लिएका कारण तरकारी खेतीमा लाग्ने आँट गरेको मगर बताउनुहुन्छ । स्थानीय सरकार , प्रदेश सरकार समेतले बाटोघाटो , सिंचाई , बीउबीजन , कृषि औजार लगायतमा सहयोग गरेपछि तरकारी उत्पादन र बिक्री वितरणमा सहज हँुदै गएका कारण पनि जुकेपानीमा तरकारी खेती फस्टाउँदै गएको मगरले बताउनुभयो । दैनिक रुपमा तीन गाडी तरकारी काउले गाउँबाट मात्रै पठाईने गरिएको छ । तरकारी लिन किसानको बारीमै गाडी पुग्ने गरेका छन् ।
काउलेटोल निवासीे ३६ बर्षका रामबहादुर राईको जीवन पनि तरकारी खेतीले फेरिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आउनुभएका रामबहादुरले अहिले मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुहुन्छ ।
तीन बर्षसम्म विदेशमा पसिना बगाउनुभएका उहाँले विदेशमा सोचेजस्तो प्रगती गर्न नसकेपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले ३० हजार लगानीबाट तरकारी खेती सुरु गर्नुभयो । राईले सात कठ्ठा जग्गामा, काँक्रो, फर्सी , ,गोलभेडा , आलु खेति गर्दै आउनुभएको छ ।
अहिले उहाँको बारीमा लोकल भक्तपुरे काँक्रो छ । थोक मुल्यमा ४० देखि ५० रुपैयाँ किलोमा अहिले काँक्रो बिक्री भएको उहाँले बताउनुभयो । तरकारी खेतीको लगानी कटाएर , घरखर्च र छोराछोरीको पढाई खर्च समेत कटाई वार्षिकरुपमा करीब सात लाख रुपैयाँसम्म नाफा हुने गरेको राईले बताउनुभयो ।
विदेशमा पाएको दुःख सम्झदै उहाँले भन्नुभयो – ‘आफ्नै परिवारसंग बसेर कृषि कर्म गर्दा निकै खुसी छु । मिहिनेत गरे नेपालमै सुन फलाउन सकिन्छ , विदेश जानु पर्दैन् ।’
काउलेटोलकी कृषक यमकुमारी थापा मगरले पनि १० कठ्ठा जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । घरिपारका सबै जना मिलेर काम गर्ने गरेको उहाँले बताउनुभयो । तरकारी खेतीबाट भएको आम्दानीबाट नै दुई तलाको पक्की घर बनाउन सफल भएको उहाँले सुनाउनुभयो । तरकारीकै आम्दानीबाट घरखर्च र अन्य व्यवसाय ( किराना पसल , बुङ्गुर पालनमा ) पनि लगानी गरेको उहाँ बताउनुहुन्छ । तरकारी बिक्रीबाट वार्षिक रुपमा सातआठ लाख रुपैयाँसम्म नाफा कमाउने गरेको उहाँको भनाई छ ।
जुकेपानीका केहि कृषकले मात्रै जग्गा लिजमा लिएर एक देखि दुई कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका छन् । अधिकाशंले दश कठ्ठा हाराहारीमा तरकारी खेती गर्दै आएका छन् । यहाँका कृषकलाई प्रबद्र्धन गर्न अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘तरकारी जोन’ कार्यक्रम , गण्डकी प्रदेशले सञ्चालन गरेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम पनि लागु गरिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?