logo
२०८१ बैशाख १४ शुक्रवार

गोठेमलका कारण फल्यो बैतडीमा ‘अर्गानिक ’ तरकारी ! ( फोटोफिचर)

अर्थ |
समाज |
फोटो फिचर |


2020-12-16-28453
तिरखडेनी गाउँमा फलेको अर्गानिक तरकारी निरीक्षण गर्नुहुँदै स्थानीय सरकारी प्रतिनिधि । तस्बिरः गोकर्ण दयाल



गोकर्ण दयाल
बैतडी, पुस १ गते । उत्पादन बढाउन पछिल्लो समय तरकारीमा युरिया जस्ता मलखाद र विषादीको अत्याधिक प्रयोग भइरहेको बेला बैतडीको तिरखडेनी गाउँमा गोठेमल बाहेक अन्य आयातित मलखाद र विषादीको प्रयोग नगरी अर्गानिक तरकारी फलेको छ । बैतडीको दरशथचन्द नगरपालिका–१०, महाकाली किनारको तिरखडेनी गाउँमा भर्खरै महाकाली नदीको पानी लिफ्ट गरेर सिँचाई सुविधा पुगेको छ । गाउँमा सिँचाइ पुगेपछि स्थानीय किसानले बारीमा काउली, टमाटर, रायो, धनियाँ, आलु फलाउन सुरु गरेका छन् । तिरखडेनी गाउँमा फलेको सबै तरकारीमा गोठेमल बाहेक कुनै पनि विषादी र आयातित मलखादको प्रयोग गरिएको छैन ।
तिरखडेनी गाउँको छेउमै रहेको जगन्नाथ मन्दिरका कारण युरिया मल र विषादीको प्रयोग गर्न नमिल्ने भएकाले गाउँका सबै किसानले गोठेमलको प्रयोग गरेर तकारी फलाएको स्थानीय किसान पशुपति बुडालले बताउनुभयो ।
बुडालले भन्नुभयो, ‘ खेतको छेउमै मन्दिर छ । विषादी र युरियालगायतको आयातित मलमा जनावरको हड्डी मिसावट हुन्छ, भन्छन्, त्यसैले विषादी र युरिया मलको प्रयोग गर्दैनौं । उर्वर खेतबारीमा गोठेमलको प्रयोग गरेरै सोचेभन्दा राम्रो तरकारी फलेको छ । ’
दशरथचन्द नगरपालिकाको १५ लाख रुपियाँ आर्थिक सहयोग तथा स्थानीय रुडेस नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा महाकाली नदीबाट पानी तानेर गाउँमा सिँचाई पुगेपछि अहिले तिरखडेनी गाउँ हराभरा भएको छ ।
तिरखडेनी गाउँमा पहिलो पटक महाकाली नदीको पानी लिफ्ट गरेर सिँचाइ पुगेपछि स्थानीय किसानले व्यवसायिक तरकारी खेती सुरुगरेको प्रताप बुडालले बताउनुभयो । महाकाली किनारको उर्वर जमिनमा सिँचाइ पुगेपछि आयातित मलको आवश्यकता नपर्ने बुडालले बताउनुभयो ।
प्रतापले भन्नुभयो, ‘उत्पादनमा कुनै कमी छैन । अर्गानिक तरकारीको बजारीकरण कसरी गर्ने ? भन्ने विषयमा सोचिरहेका छौं । स्थानीय तहको सरकार र कृषि ज्ञानकेन्द्रले स्थालगत निरीक्षण गरेर तरकारी परीक्षण गरिदिए आर्गनिक तरकारीको मान्यता पाइने थियो ।’
स्थानीय किसानलाई तरकारी फलाउन बीउबिजनलगायत प्रविधि सहयोग गर्दै आइरहेको स्थानीय संस्था रुडेस बैतडीले किसानको तरकारी बजारसम्म ढुवानी गर्नुपूर्व स्थानीय सरकार र कृषि ज्ञानकेन्द्रसँग आर्गनिक तरकारीको मान्यता दिलाउन पहल भइरहेको जानकारी दिएको छ ।
महाकाली नदीको पानी लिफ्ट गरेर पहिलो पटक गाउँमा पानी पुगेपछि किसानलाई व्यवसायिक तरकारी खेती गर्न दशरथचन्द नगरपालिकाले हातेट्याक्टर उपलब्ध गराएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो ।
थापाले भन्नुभयो, ‘ तिरखडेनी गाउँमा सिँचाइ पुर्याएका छौं । हातेट्याक्टर पनि दिएका छौं । हामी आफैँ किसानको बारीमा पुगेर हेर्दा फलेको तरकारी एकदम आर्गनिक छ । कृषि ज्ञान केन्द्रसँग समन्वय गरेर आर्गनिक तरकारी भनेर परीक्षण गर्न लगाएर प्रमाणित गर्न पहल गर्दैछौं ।’