logo
२०८१ बैशाख ७ शुक्रवार



तराईका चरा आउन थाले काठमाडौँ

मुख्य समाचार |


तराईका चरा आउन थाले काठमाडौँ


चाँदनी हमाल

काठमाडौँ, मङ्सिर ३० गते । तराईका चरा पहाड उक्लन थालेका छन् । झण्डै एक दर्जनभन्दा बढी नयाँ चरा काठमाडौँमा देखिएको चराविद्ले जनाएका हुन् ।
जाडो बढ्दै गएको यो समयमा काठमाडौँ उपत्यकाको मनोहरा क्षेत्रमा तराईका चराको चाप बढ्दै गएको चराविद् डा. हेमसागर बरालले बताउनुभयो । मनोहरा खोलालाई अहिले मिनी कोसीटप्पु भनेर चराविद्समेत त्यहाँ धाउन थालेका छन् ।
उहाँका अनुसार समुद्री सतहदेखि तीन सय मिटरभन्दा तलै पाइने चस्मे भारद्वाज चरा एक हजार मिटरको उकालो तय गर्दै दुई दिनअघि मात्र मनोहरा खोलामा आएको छ । “गर्मीको मौसममा आएको भए पनि थोरै चिसो खान आयो भन्नु तर जाडोको समयमा काठमाडौँमा यसरी चस्मे भारद्वाज आउनु अचम्म नै हो”, डा. बरालले भन्नुभयो । यो मात्र हैन केही दिनअघि तराईकै नरकट घाँसे चरी मनोहरा घुम्न आइपुगेको थियो । तराईमा पाइने नरकटका घाँसमा रमाउने त्यो चरा काठमाडौँ आउनुले पनि चरा उकालो चढ्न थालेको पुष्टि हुन्छ ।
यसैगरी तराईकै चुइयाँ चराका विभिन्न प्रजाति पनि यसै वर्ष उपत्यका भित्रिइसकेका छन् । पानी चुइयाँ चराले मनोहरा खोलामा पौडी खेलेको छ । सन् १९९२ ताका पहिलोपल्ट काठमाडौँ उक्लेको लालकण्ठे चुइयाँ चराले दोहो¥याएर यसपालि उपत्यका आएको छ । मालक र सुनजुरे चरा पनि दोहो¥याएर उपत्यका भित्रेका छन् ।
अहिले चराको स्वर्ग मानिने कोसी टप्पु, कपिलवस्तु र चितवनभन्दा पनि काठमाडौँ उपत्यकामा चराको आवतजावत बढेको छ । पहिले कहिल्यै नआएका चरा पनि काठमाडौँमा रेकर्ड भएका छन् । तराईको बाज रातो टाउके पौडाइ र सेता थोप्ला हुने सुन्दर कालो सारौँ पनि काठमाडौँ आइपुगेको छ ।
भक्तपुरको बोडे गाउँबाट तल झरेपछि आउने मनोहरा फाँट अहिले फिरन्ते चराको मुख्य आकर्षण बनेको छ । सुन्दर चरा आउन थालेपछि स्थानीय चराको फोटो खिच्न र चरा हेर्नकै लागि उहाँ जम्मा हुन थालेका छन् ।
विगत चार वर्षदेखि मनोहरा खोलामा चरा हेर्न थालेका फोटोग्राफर सञ्जय श्रेष्ठले यसअघि कहिल्यै नदेखिएका चरा मनोहरा खोलामा देखिन थालेको बताउनुभयो । “कति राम्राराम्रा चरा आउँछन्, हेर्न र फोटोमा कैद गर्न हरेक दिन मनोहरा पुग्छु”, उहाँले सुनाउनुभयो । श्रेष्ठका अनुसार नेपालका तराई भेगसँगै साइबेरिया र रुसबाट पनि यहाँ फिरुन्ते चरा आउने गरेका छन् । चराविद् बरालका अनुसार कोभिड सङ्क्रमणका कारण मानिसको जमघट उपत्यकामा कम हुँदा पर्यावरणमा परेको सकारात्मक प्रभावले यसरी उपत्यकामा चरा आउन थालेको हो । जलवायु परिवर्तनको असरले काठमाडौँको तापक्रम जाडोमा पनि तातो हुन थालेकाले पनि तराईका चरा आउनसक्ने वातावरण सिर्जना भएको उहाँको ठम्याइ छ ।
खोला तथा सिमसार छेउमा काँसघारी बन्नु र माथितिर सल्लाको वन हुनाले पनि चराको आकर्षण यस क्षेत्रमा बढेको अनुमान उहाँ गर्नुहुन्छ । काठमाडौँको मनोहरा फाँटको एक हजार मिटर आसपासमै अहिले धेरै सुन्दर चरा देखिने स्थान बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?