logo
२०८० चैत्र १६ शुक्रवार



श्रमिक इजरायल पठाउन प्रक्रिया सुरू

अर्थ |


श्रमिक इजरायल पठाउन प्रक्रिया सुरू


सीता शर्मा

काठमाडौैँ, मङ्सिर २७ गते । नेपाली श्रमिक इजरायल पठाउन गरिने आवश्यक प्रक्रिया थालिएको छ । नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी दुई देशबीच प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । अहिलेकै जस्तो उत्साहले काम भएमा नेपाली श्रमिक इजरायल पठाउन आगामी पुसदेखि छनोट प्रक्रिया सुरु हुनेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले इजरायलमा नेपाली श्रमिक पठाउने विषयमा छिट्टै प्रोटोकलमा हस्ताक्षर गरिने बताउनुभयो । नेपाल सरकारका तर्फबाट कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गर्ने अधिकारको मन्त्रिपरिषद्बाट टुङ्गो लागेपछि श्रमिक छनोट प्रक्रिया अगाडि बढ्ने पनि उहाँको भनाइ छ । मन्त्री यादवले भन्नुभयो, “प्रोटोकलमा हस्ताक्षर गर्ने विषय बिहीबारको मन्त्रिपरिषद्को बैठकले टुङ्गो लागेमा यो प्रक्रिया अझै छिटो हुन्छ । ”
नेपालबाट इजरायल सरकारले केयरगिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भएको थियो । नेपालका लागि इजरायलका राजदूत गोडरले नेपाल र इजरायलबीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्दै जनावरीदेखि श्रमिक छनोटको प्रक्रिया सुरु गरिने बताउनुभयो ।
गत असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायली नागरिकसरहको सेवा सुविधा दिनेगरी श्रम सम्झौता सम्पन्न भएको थियो । उक्त सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै सङ्ख्यामा नेपालबाट दक्ष श्रमिक इजरायल जाने छन् ।

कार्यविधि तयार
श्रम मन्त्रालयले सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुनेगरी कार्यविधि तयार गरेको जनाएको छ । श्रम मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाएको दाबी गरेको छ । कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर नेपालका लागि इजरायली राजदूतले गर्ने विषयको टुङ्गो लागिसकेको छ । नेपालका तर्फबाट टुङ्गो लाग्नेबित्तिकै कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर हुने श्रम मन्त्रालयले जनाएको छ ।
सम्झौताअनुसार नेपाली श्रमिकले इजरायलको केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा रोजगारीको अवसर पाउने छन् तर प्रत्येक क्षेत्रमा रोजगारीको अवसर खुल्नका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया खुला हुनेछ । यसअन्तर्गत पहिलो चरणमा केयरगिभरको क्षेत्रमा पाँच सय नेपाली श्रमिक इजरायलले लैजाने छ । नेपाली श्रमिकलाई इजरायल पठाउने काम वैदेशिक रोजगार विभागले गर्नेछ ।
कार्यविधि बनाउने कार्यमा सदस्यका रूपमा रहनुभएका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कार्यान्वयन प्रोटोकलमा पुसको पहिलो साताभित्र हस्ताक्षर हुने बताउनुभयो । उहाँले कार्यान्वयन प्रोटोकलमा दुई देशबीच हस्ताक्षर सम्पन्न भएको एक÷दुई साताबाट श्रमिक छनोट सुरु हुने र डेढ दुई महिनाभित्र पहिलो चरणका लागि तोकिएका पाँच सय जना इजरायल जान सुरु हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो प्रक्रियाबाट इजरायल गएकाले आ–आफ्नो क्षेत्रमा के कस्तो इमानदारिता देखाउन सक्छन्, त्यही आधारमा पछि थपिने
सङ्ख्याको टुङ्गो लाग्नेछ । ”
त्यसो त यसअघि पनि नेपाली केयरगिभरका रूपमा इजरायल गएका छन् । कतिपय नेपाली अहिलेसम्म त्यहाँ कार्यरत छन् । त्यस्तै साना किसान बैङ्कको संयोजनमा कृषि क्षेत्रमा काम गर्नका लागि हरेक वर्ष १० महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत तीन हजार १६२ जना नेपाली इजरायल गइसकेका छन् ।

नयाँ श्रम सम्झौता विगतभन्दा व्यवस्थित हुने
नयाँ श्रम सम्झौतापछि विगतभन्दा व्यवस्थित प्रणालीबाट इजरायल रोजगारीमा श्रमिक पठाउन सकिने विभागका महानिर्देशक दाहालको भनाइ छ । नयाँ श्रम सम्झौताअनुसार एसएलसी वा एसईई उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी तालिम वा १२ कक्षा उत्तीर्ण भई तीन महिने कियरगिभरसम्बन्धी तालिम लिएका, अङ्ग्रेजी बोल्न सक्नेले इजरायल रोजगारीमा जानका लागि आवेदन दिनसक्ने छन् । श्रम सम्झौतामा विभिन्न चरणमा दुई सय अमेरिकी डलर तलब हुने बताइएको छ ।
इजरायलमा ६० हजार विदेशी केयरगिभर छन् । यसअघि सन् २०१७ मा एक संस्थाले सार्वजनिक गरेको जानकारीअनुसार इजरायलमा झन्डै १५ प्रतिशत केयरगिभर नेपालका रहेका छन् । इजरायल र नेपाल सरकारबीच २०७२ साल साउनमा केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा एक सम्झौता (एमओयू)मा हस्तााक्षर भएको थियो । कमाइ र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको रोजगारी सरकारी स्तरमा श्रम सम्झौता (जीटुजी) भएको पाँच वर्ष नपुग्दै बन्द भएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?