logo
२०८१ बैशाख ७ शुक्रवार



पालिकाका गाईको निःशुल्क बीमा

अर्थ |


पालिकाका गाईको निःशुल्क बीमा




नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, मङ्सिर १४ गते । बाँकेको खजुरा गाउँपालिकामा पालिएका सबै गाईको निःशुल्क बीमा गरिएको गाउँपालिकाले जनाएको छ । खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी संस्थासँग मिलेर गाउँपालिकाले सबै किसानका गाईको निःशुल्क बीमा गरेको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतीले गाउँपालिकाले सबै किसानको घरदैलोमा बीमा कम्पनीका प्रतिनिधिसहितको टोली खटाएर सम्पूर्ण गाईको बीमा गरेको बताउनुभयो ।
उहाँले गाउँपालिकामा रहेका ६५० भन्दा बढी गाईको बीमा गरिसकिएको पनि बताउनुभयो । उहाँका अनुसार गाईको मूल्याङ्कन गरेर न्यूनतम प्रतिगाईको १० हजारदेखि अधिकतम एक लाख रुपियाँसम्मको बीमा भएको हो ।
गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउन गाउँपालिका र सहकारी संस्थाले मिलेर बीमा गरिएको जनता दुग्ध सहकारी संस्थाका व्यवस्थापक गौरव सापकोटाले बताउनुभयो । उहाँले खजुरा गाउँपालिकाको बजेटले सबै किसानका गाईको बीमा गर्न सम्भव नभएपछि आफ्नो सहकारीले पनि ३० प्रतिशतजतिको बीमा गरेको बताउनुभयो ।
बाँकेमा पशु बीमा गर्दै आएको एनएलजी इन्स्योरेन्सका खजुरा एजेन्ट गोपीचन्द्र बोहोराले गाईको उमेर, दूध दिने क्षमता तथा स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरेर बीमा गरिएको बताउनुभयो । सोको प्रिमियम ७५ प्रतिशत सरकारले दिने र २५ प्रतिशत गाउँपालिका र सहकारीले मिलेर तिरेको बताउनुभयो ।
गाईको बीमा गरिएपछि किसान खुसी भएका छन् । खजुरा–४ का किसान नरेन्द्र सापकोटाले गाउँपालिकाले गाईको निःशुल्क बीमा गरेकाले दूध उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाउन हौसला मिलेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?