logo
२०८० चैत्र १६ शुक्रवार



पर्यटन प्रवर्द्धन गर्न मर्स्याङदीको म्युजिक भिडियो

पर्यटन |
मनोरञ्जन |


पर्यटन प्रवर्द्धन गर्न  मर्स्याङदीको म्युजिक भिडियो


बेलिना थापा
लमजुङ, मङ्सिर १२ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको चिनारी म्युजिक भिडियो छायाङ्कन सुरु भएको छ । गाउँपालिकामा पर्यटन प्रवर्द्धनका लागि म्युजिक भिडियो छायाङ्कन थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार वडा नं. १ घनपोखरा र नायुबाट म्युजिक भिडियो छायाङ्कन सुरु गरिएको छ ।

पर्यटकीय सम्भावना रहेको गाउँपालिकाको थप पर्यटन प्रवर्द्धनका लागि म्युजिक भिडियो छायाङ्कन गरिएको बताउनुभयो । अन्नपूर्ण पदमार्गमा पर्ने गाउँपालिकालाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार र पर्यटकीय गतिविधि बढाउन यसले सघाउ पुग्ने बताउनुभयो ।

‘हाम्रो गाउँपालिका जिल्लाकै नमूना गाउँपालिका हो । यहाँ, पर्यटकीय, ऐतिहासिक स्थलहरू थुप्रै छन् । पर्यटकलाई लोभ्याउने चिजहरू छन्’ उहाँले भन्नुभयो, ‘पर्यटक आकर्षित गराउने कुराको प्रचारप्रसार अझै हुन सकेको छैन । यस म्युजिक भिडियोमा गाउँपालिकाका सबै पर्यटकीय तथा ऐतिहासिक स्थल समेट्छौं । यसले गाउँपालिकाको विकास थप टेवा पुग्छ ।’

म्युजिक भिडियोमा वडा नं. १ देखि ९ कै महत्वपूर्ण स्थानहरू उतारिने छ । डा. हर्क गुरुङ पार्क, भक्ति थापाको समाधीस्थल, राष्ट्रकविको गाउँ पुस्तुन, अन्य पर्यटकीय गाउँहरू घनपोखरा, सिउरुङ, ताघ्रिङ, रक गार्डेन, खोलानाला, छहरा उतारिने छ । म्युजिक भिडियो छायाङ्कनका लागि गाउँपालिकाले चालु आर्थिक बर्ष २०७७-७८ मा ८ लाख रुपियाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिका १ का अध्यक्ष रुद्रमान गुरुङले म्युजिक भिडियोले पर्यटन प्रवर्द्धनमा सहज हुने बताउनुभयो । म्युजिक भिडियो छायाङ्कन गुरुङ चलचित्रका नायक एवं वडा नं. ६ का स्थानीय विष्णु गुरुङको संयोजनमा भएको छ । गाउँपालिका चिनारी गीतमा गाउँपालिकाभित्रकै कलाकारले स्वर दिएका छन् । अभिनयमा पनि गाउँपालिकाकै कलाकारलाई स्थान दिइएको छ ।

मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडाकी खुश्बु गुरुङले गाउनुभएको ‘आउनु है मर्स्याङ्दी गाउँपालिका’ बोलको गीतमा मर्स्याङ्दी गाउँपालिका ५ घेर्मुकी सुनिता गुरुङको अभिनय रहने छ । अन्य स्थानीय कलाकार रहेका छन् । उक्त गीत ६ मिनेटको रहेको छ । गीतको शब्द रचना तथा संयोजक वडा नम्बर ४ का अध्यक्ष सुमन गुरुङको छ । गीतको एरेञ्जर तेजेन्द्र गुरुङको छ । नृत्य निर्देशकमा कमल गुरुङ र भारती घले रहनुभएको छ । क्यामरा भेष गुरुङको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?