logo
२०८० चैत्र १५ बिहीवार



भारतमा कोरोना भाइरस संक्रमण ९३ लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोना भाइरस संक्रमण ९३ लाख नाघ्यो
तस्विर-फाइल


नयाँदिल्ली, मंसिर १२ गते।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।
भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४३ हजार २४ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।

हाल भारतमा ९३ लाख ९ हजार ७८८ जना कोरोना भाइरस संक्रमित छन् । जसमध्ये ८७ लाख १८ हजार ५१७ व्यक्ति संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ५५ हजार ५५५ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २० औं दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४९२ जनाको मृत्यु भएको र योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३५ हजार ७१५ पुगेको छ ।

भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा अझै पनि ८७ हजार १४ व्यक्ति सक्रिय संक्रमित छन् । त्यसपछि केरलामा ६४ हजार ६१५ व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने राजधानी शहर दिल्लीमा ३८ हजार २८७ जना सक्रिय संक्रमित छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ७० लाख ६२ हजार नमूना परीक्षण गरेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताउनु भएको छ ।

उहाँले भन्नुभयो, “सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ । हामी खोप निर्माताहरुसँग छलफल गरिरहेका छौं । हामी विश्वका अरु नियामकहरु, सरकारहरु, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौं । अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौं ।”

प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहनु भएको पनि जानकारी दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?