logo
२०८१ बैशाख ७ शुक्रवार

जागिर छाडेर कृषि र राजनीति, दुबैमा फलिफाप, वर्षमा पाँचलाख नाफा

अर्थ |
फोटो फिचर |
पढ्नै पर्ने |


2020-11-25-27089


गोविन्द शर्मा
बाँके, मङ्सिर १० गते । खजुरास्थित कपास विकास समितिका पूर्व कर्मचारी हुनुहुन्छ, गेहेन्द्र धिताल । खजुरा गाउँपालिका नेकपाको कार्यालय सदस्य पनि । तर उहाँ अधिकांश समय खेतबारीमा बिताउनुहुन्छ ।
खेतबारीमा दिनुपर्ने केही समय बचाएर उहाँ पार्टीका बैठक तथा कार्यक्रममा सहभागी हुन जानुहुन्छ । सोह्र वर्षअघि कपास विकास समितिबाट राजीनामा दिएर धितालले व्यावसायिक तरकारी खेती थाल्नुभएको थियो । यो तरकारी खेती अहिले यो परिवारलाई निकै फापेको छ । धिताल परिवारले वार्षिक खर्च कटाएर पाँच लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको छ ।
अहिले उहाँ बर्सेनि करिब अढाई बिगाह जग्गामा आधुनिक पद्धतिबाट तरकारी तथा फलफूल खेती गर्दै आउनुभएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले यसलाई नै पेशा बनाउनुभएको छ । सुरुमा छ कठ्ठा जग्गाबाट खेती थाल्नुभएका धितालले अहिले अढाई बिगाहमा तरकारी र फलफूल खेती गर्नुभएको छ ।
उहाँको बारीमा अहिले केरा फलेका छन् । टमाटर र आलु खेती गरिएको छ । ‘सिजन अनुसारको खेती गर्दैआएको छु’, सोमबार बाँकेको खजुरा गाउँपालिका–२ सीतापुर, केगाउँस्थित टमाटरबारीमा भेटिनुभएका धितालले भन्नुभयो, ‘खेतबारीमा रमाउँदा आनन्द लाग्न थालेको छ ।’ खेतको कामसँगै बजारीकरणमा समेत धिताल आफैँ खटिँदै आउनुभएको छ ।
उहाँले हाल मल्चिङ विधिबाट एक बिघा क्षेत्रफलमा टमाटर खेती गर्नुभएको छ । मल्चिङ पद्धतिबाट खेती गर्दा सस्तो हुने र उत्पादन पनि बढी हुने धितालको अनुभव छ । मल्चिङ विधिबाट खेती गर्दा प्लाष्टिकले माटो छोप्ने भएकाले ठेक्रा पनि नचाहिने हुन्छ ।
यसबाट माटो खुकुलो हुने, पानीको चिस्यान लामो समयसम्म हुने र झारपात पनि कम हुने धितालले बताउनुभयो । एक पटक मल्चिङबाट खेती गरेमा दुई वर्षसम्म हुन्छ ।
उहाँले पूर्णरुपमा अर्गानिक तरिकाले खेती गर्दै आउनुभएको छ । ‘युरिया मल प्रयोग गर्न छोडेको १० वर्ष भयो ।’ धिताल भन्नुहुन्छ, ‘रासायनिक मल प्रयोग नगरेपछि तरकारीमा कीरा र अन्य रोग पनि कम लाग्दो रहेछ ।’ तरकारीसँगै सयपत्री फूल लगाएपछि रोग कीराको डर कम हुने धितालको अनुभव छ ।
कृषि सम्बन्धी तालिममा सहभागी नभए पनि कृषिसम्बन्धी पत्रपत्रिका र बुलेटिनको अध्ययन गरेर नयाँ नयाँ प्रविधि सिक्दैआएको उहाँको भनाइ छ । धितालले हालसम्म गाउँपालिकाबाट सामान्य सहयोगबाहेक अनुदान पाउनुभएको छैन । सिँचाइ सुविधाका लागि उहाँले आकाशको पानी जम्ने पोखरी निर्माण गर्नुभएको छ ।