logo
२०८० चैत्र १५ बिहीवार



कोसेलीको रोजाइ बन्दै लप्सीको क्यान्डी

अर्थ |
फिचर |


कोसेलीको रोजाइ बन्दै लप्सीको क्यान्डी


चाँदनी हमाल

दक्षिणकाली (काठमाडौँ), मङ्सिर ६ गते । लप्सीका लागि प्रसिद्ध दक्षिणकाली नगरपालिका अचेल लप्सी क्यान्डीका लागि चर्चित बन्दै भएको छ । कोरोना सङ्क्रमणका कारण लामो समय बन्द रहेको क्यान्डी उद्योग बिस्तारै जाग्दै छन् । बजार पसल खुल्ने तथा चाडबाडको मेसो आएसँगै उद्योग खुल्न थालेका हुन् ।
दक्षिणकाली नगरपालिका–८, छैमलेका उत्तमप्रसाद आचार्यको घरेलु उद्योगमा यतिबेला लप्सी क्यान्डी बनाउन भ्याइनभ्याई छ । गाउँबाट आउने कारिन्दा दशैँ, तिहारको तयारीमा व्यस्त रहेकाले आएका छैनन् तर गोरखादेखि आएर काम गरिरहेका कामदारलाई भने कामको चटारो छ ।
गोरखाका तिलकबहादुर बराम, राजकुमार बराम र मनकाजी बराम सबेरै उठेदेखि साँझसम्म क्यान्डी बनाउने काममा लागि पर्नुहुन्छ । बिहान सबेरै लप्सीका लेदो फ्रेममा हालेर तयार गर्ने, घाम लागेपछि सुकाउने र दिउँसोदेखि साँझसम्म तयार भएका लप्सीका थरीथरीका पातोलाई क्यान्डीमा रूपान्तरण गर्न उहाँहरूलाई भ्याइनभ्याई हुन्छ । दक्षिणकाली फुड प्रोडक्ट नाममा एक थरी लप्सीका सातथरी क्यान्डी बनाउने गरेको उद्योगी उत्तमप्रसाद आचार्यले बताउनुभयो । अमिलो, पिरो, गुलियो, नुनिलो, मसला मिसाएको गरी विभिन्न स्वादमा लप्सीका क्यान्डी उहाँकोमा पाइन्छ ।
चिनीको पाकबाट मात्र बनेका बजारका अस्वस्थ चकलेट, मिठाईभन्दा लप्सीको क्यान्डी कयौँ गुणा लाभकारी हुन्छ, उहाँ सुनाउनुहुन्छ । काठमाडौँबाट बाहिर जानेले दशैँ, तिहार, छठजस्ता चाडबाडका बेला कोसेलीका रूपमा लप्सीका क्यान्डी बढी घर लैजान्छन् । त्यही भएर यतिबेला माग आइरहेको छ ।
उहाँका अनुसार कोरोनाका कारण विगत चैतदेखि ठप्प रहेको उत्पादन, वितरणका कारण ठूलो घाटा बेहोर्नुप¥यो । स्कुल, कलेज र कोसेली बेच्ने भाटभटेनी, बसपार्कका बजार र न्युरोडका पसलमा उहाँको क्यान्डी अत्यधिक पुग्थ्यो तर सबै बन्द भएपछि माग बन्द भयो । त्यसैले गत वर्ष भण्डारण गरिएका झन्डै १० हजार किलो लप्सीका घोल सकिएका छैनन् ।
अब बजार, पसल खुल्ने आशाले यस वर्ष २५ हजार लप्सीका बोट खरिद गर्नुभएको छ । लप्सीका बगान नै खरिद गरेर क्यान्डी उद्योग सञ्चालन गर्दा त्यहाँका किसानलाई सहज भएको छ । अन्यत्र बेच्नुपर्ने अवस्था छैन ।
गाउँमा खुलेको उहाँको उद्योगमा झन्डै आठ सय जनाले रोजगार पाएका छन् । कामको प्रकृति हेरी दैनिक चार सयदेखि एक हजारसम्म ज्याला कामदारले पाउँछन् तर स्थानीय सरकारले यसरी गाउँमा रोजगार दिने किसानलाई अनुदान र सहुलियत दिनुपर्ने उहाँ सुझाउनुहुन्छ ।
नेपालको मौलिक उत्पादनका रूपमा ब्रान्डिङ गरेर विदेश निर्यात गर्न सकेमा सरकारका लागि यो विदेशी मुद्राको
राम्रो आयस्रोत बन्नसक्ने सम्भावना औँल्याइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?