logo
२०८१ बैशाख ८ शनिवार

  तनहुँ जलविद्युत आयोजना  



दशैं विदामा पनि काम रोकिएन, विद्युतगृहमा उपकरण जडान हुँदै

अर्थ |


दशैं विदामा पनि काम रोकिएन, विद्युतगृहमा उपकरण जडान हुँदै


प्रकाशचन्द्र भट्टराई
दमौली, कात्तिक १२ गते । नेपालीहरुको महान चाड बडादशैको बिदामा पनि तनहँु जलविद्युत आयोजनाको काम भने निरन्तर भईरहेको छ । आयोजनाले दशैंको विदामा पनि कामलाई निरन्तरता दिएको हो । दशैंको बिदा भए पनि आयोजनाको काममा कुनै अवरोध नभएको आयोजना प्रमुख अच्युत घिमिरेले बताउनुभयो ।
दशैंको समयमा नेपाली कामदार नभएपनि चिनियाँ मजदुरहरुले निरन्तर काम गरिरहेको घिमिरेले बताउनुभयो । आयोजनाको दोश्रो प्याकेजको निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो मार्फत हाल दुई सय २० जना नेपाली र ५० जना चिनियाँ मजदुर कार्यरत रहेका छन् । जसमध्ये नेपाली कामदार दशै मान्न घर गए पनि चिनियाँ मजदुरले निरन्तर काम गरिरहेको आयोजना प्रमुख घिमिरेले बताउनुभयो ।
दशैंको बेलामा चिनियाँ मजदुरले विद्युत गृहमा उपकरण जोड्ने काम गरेको उहाँले बताउनु भयो । दशैं मान्न घर गएका नेपाली कामदार कोजाग्रत पुर्णिमा पछि फर्किने र उनीहरु सबैको पिसिआर परिक्षण गरेर काममा लगाईने घिमिरेले बताउनुभयो । सिनो हाइड्रोले आयोजनाको दोश्रो प्याकेज अन्तर्गतको सुरुङ निर्माण, भुमिगत विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल सम्बन्धि उपकरण जडानको ठेक्का पाएको छ ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन आयोजनाको प्रशारण लाईनको काम पनि सुरु भईसकेको छ । दमौलीदेखी चितवनको भरतपुरसम्मको दुई सय २० केवी डबल सर्किटको प्रशारण लाईन निर्माणको ठेक्का भारतीय कम्पनी केईसीले पाएको छ । प्रशारण लाइनकालागि कुल ९४ वटा टावर निर्माण गरिने भएपनि चालु अािर्थक वर्षमा ३० वटा टावर निर्माण गरिने लक्ष्य रहेको छ । २०२२ को मार्चसम्म प्रशारण लाईन निर्माण सम्पन्न गरिने छ ।
कुल १४० मेगावाट क्षमताको तनहँु जलविद्युत आयोजनाको काम तीन वटा प्याकेज अन्तर्गत निर्माण भएको छ । पहिलो प्याकेज अन्तर्गत एक सय चालिस मिटर अग्लो बाँध निर्माण, दोस्रोमा सुरुङ र विद्यृत गृह निर्माण तथा तेस्रो प्याकेज अन्तरगत प्रशारण लाईन निर्माणको काम रहेको छ । पहिलो प्याकेज अन्तर्गतको कामका लागि आयोजनाले हालै तेस्रो पटक बोलपत्र आह्वान गरेको छ ।
आयोजनाको लागि एक सय ४० मिटर अग्लो बाँध, एक हजार एक सय ६२ मिटर लम्बाई र ७४ मिटर अग्लो सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाईको भुमिगत विद्युत गृह निर्माण गरिने छ । आयोजनाको कुल लागत पाँच सय पाँच मिलियन अमेरिकी डलर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?