logo
२०८१ बैशाख ८ शनिवार



बाँकेमा उत्पादित चल्लाको माग अत्यधिक, एक महिना अघिनै बुक भइसक्छ

अर्थ |


बाँकेमा उत्पादित चल्लाको माग अत्यधिक, एक महिना अघिनै बुक भइसक्छ


सिराज खान
नेपालगञ्ज, कात्तिक ११ गते । बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले उत्पादन गरेको चल्लाको माग बाँके लगायत यस देशभरकै विभिन्न जिल्लामा अत्यधिक रहेको फार्मले जनाएको छ ।
कुखुरा विकास फार्म खजुराका प्रमुख डा.शकर न्यौपानेले गुणस्तर, जात र न्युन मुल्यका कारण फार्ममा उत्पादन गरिएका चल्लाको माग अत्यधिक भएको बताउनुभयो ।
उहाँले कात्तिक मसान्तसम्मका लाागि किसानहरुले चल्ला खरिद गर्न फार्ममा बुकिंग गराईसकेकोले अब आउने किसानलाई मंसिरमा मात्र पाउने भनि फिर्ता पठाउने गरिएको बताउनुभयो ।
फार्मका प्रमुख डा. न्यौपानेका अनुसार कात्तिक मसान्तसम्म ५० हजार चल्ला दिनुपर्ने भएकोले सोही अनुसार उत्पादन गर्ने कार्य भैरहेको बताउनुभयो ।
हालसम्म अर्डर अनुसारको २५ हजार चल्लाको उत्पादन भैसकेको र बाँकी उत्पादन भइरहेको उहाँको भनाई छ ।
बर्दियाको राजापुरबाट चल्ला लिन आउनु एका किसान नरेश थारुले फार्मको चल्ला निकै राम्रो भएको र मासु पनि बढी हुने भएकोले यसको माग धेरै रहेको बताउनुभयो ।
उहाँले एक हजार चल्ला लिन आएकोमा माग धेरै भएकोले ५०० मात्र पाएको बताउनुभयो ।
सो फार्ममा न्यु हेम्पसायर, अष्टालोप, शुद्ध स्थानीय र स्थानीय क्रस जातका चल्लाहरु उत्पादन भइरहेकोले ती चल्लाको माग पश्चिम नेपालका सबैजसो जिल्लामा अत्याधिक रहेको जनाईएको छ ।
डा. न्यौपानेले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलाई लक्षित गरेर कुखुरा विकास फार्मको स्थापना गरिए पनि चल्लाको गुणस्तर,जात र मुल्यका कारण ती क्षेत्र बाहेक पूर्वको इटहरीदेखि ताप्लेजुंगसम्म गरेर देशभरिबाटै चल्लाको माग आइरहेको बताउनुभयो ।
सो फार्ममा एक दिने चल्लालाई प्रति चल्ला ४० रुपियाँमा विक्री गर्ने गरिएको छ भने बुढो भएका पोथीलाई दुई सय रुपियाँ किलो र भालेलाई २७५ रुपियाँ किलोमा विक्री गर्ने गरिएको फार्मले जनाएको छ ।
गत आर्थिक वर्ष २०७६०७७ मा दुई लाख १९ हजार चल्ला उत्पादन भएकोमा २ लाख ११ हजार विक्री गरिएको जनाउँदै सो फार्मका प्रमुख डा. न्यौपानेले चालु आर्थिक वर्ष २०७७०७८ मा तीन लाख उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँले अहिलेको माग हेरेर सो पनि कम पर्ने देखिएको जनाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?