logo
२०८१ बैशाख ७ शुक्रवार



किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैँपछि किसानका हातमा

अर्थ |


किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैँपछि किसानका हातमा


भेषराज बेल्बासे

काठमाडौँ, कात्तिक ८ गते । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा पुगेको छ ।
यो कार्ड जारी गर्नका लागि जिम्मेवारी पाएको कृषि विकास बैङ्कले धेरै प्राविधिक काम पूरा गरिसकेको छ । बैङ्कका प्रवक्ता हिमलाल पौडेलले कार्डका लागि सम्पूर्ण तयारी पूरा भएको भन्दै अन्तिम चरणमा पुगेको र कार्यविधि तयार भएपछि सम्भवतः दशैँपछि कार्ड वितरण सुरु गर्ने तयारीमा रहेको बताउनुभयो ।
कार्यविधिमार्फत क्रेडिट कार्ड कसरी सञ्चालन गर्ने, कस्ता ग्राहकलाई दिने, ग्राहक पहिचान कसरी गर्ने, खाता भएकालाई मात्रै दिने कि नभएकालाई पनि दिनेलगायतका विषयमा आवश्यक व्यवस्था गरिएपछि सुरु गर्न लागिएको उहाँको भनाइ छ ।
नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा किसानले पैसा नभएका बेलामा पनि सहजै मल, बीउ, कृषि औजारलगायत सामग्री खरिद गर्न सहजता प्रदान गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था गरिएको छ । कृषि विकास मन्त्रालयले समेत आफ्नो नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको किसान क्रेडिट कार्ड कार्यान्वयन गर्न नेपाल राष्ट्र बैङ्कले कृषि विकास बैङ्कलाई सुम्पेको छ ।
किसान क्रेडिट कार्ड सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा हुने किसान क्रेडिट कार्ड चिप्समा नभई क्यूआर कोडमा आधारित हुने उहाँले बताउनुभयो । एटीएम बुथमा नचल्ने यो कार्डले सुरुवाती चरणमा कृषि विकास बैङ्कबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैङ्कसम्म किसान धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने बताइएको छ । साथै बैङ्कले नगद भुक्तानी प्रदायक गाउँ स्तरमा खडा गर्ने र सोहीमार्फत किसानले कृषि कर्मका लागि चाहिएका बेला नगद लिनसक्ने व्यवस्था किसान क्रेडिट कार्डमार्फत हुने प्रवक्ता पौडेलको भनाइ छ ।
सरकारी तयारी यस्तो रहे पनि निजी बैङ्कले भने किसान क्रेडिट कार्ड वितरण गर्न थालिसकेका छन् । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले अरू बैङ्कले पनि ल्याइरहेको कार्डबाट धेरै किसान लाभान्वित हुने भन्दै उहाँले भन्नुभयो, “तर मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार कृषि विकास बैङ्कले ल्याउन लागेको हो । ”
किसान क्रेडिट कार्ड बनेपछि स–साना कृषि कामका लागि चाहिने थोरै रकम निकाल्न कृषक बैङ्कसम्म पुग्नुपर्दैन भने हरेक गाउँमा पैसा होल्ड गर्ने तथा पैसा खेलाउने मान्छेलाई बैङ्कले भुक्तानी प्रदायक तोक्ने भएका कारण बैङ्कभन्दा टाढा हुँदा पनि कृषकले आफ्नो कृषि कर्म अगाडि बढाउन सक्छन् ।
प्रविधिमा किसानलाई अभ्यस्त बनाउने कुरा सुरुमा जटिल हुने कुरालाई मध्यनजर गर्दै बैङ्कले बिस्तारै सुरु गर्ने, मर्चेन्ट बनाउने, प्रयोग गर्न सिकाउने, कार्यान्वयनको अवस्था हेर्ने र सफल नभएको अवस्था आयो भने पुनः सिकाउँदै लैजाने योजना बनाएको छ । किसान क्रेडिट कार्डले किसानलाई उत्पादन, पुँजी र बीउ तथा उत्पादनका साधनदेखि बजारसम्म जोड्ने आपूर्ति शृङ्खला निर्माण हुने बैङ्कले जनाएको छ । बैङ्कले निर्माण गरिरहेको सफ्टवेयरमा किसानले लिएको ऋण, सरकारबाट पाएको अनुदान, आफ्नो कृषि उत्पादनको अवस्था, कृषि औजार उपलब्धता, उत्पादनको बजारीकरण र मूल्यसमेतको सूचना ड्यास बोर्डमार्फत प्राप्त गर्नसक्ने तथा आफूले राख्नसक्ने बैङ्कका प्रवक्ता पौडेलको भनाइ छ । कृषि उत्पादनको समग्र चक्रसहित किसानलाई बजार र कृषिसँग सम्बन्धित सबै निकायसँग जोड्ने सुविधासहितको सफ्टवेयर नै किसान क्रेडिट कार्डको विशेषता भएको उहाँले बताउनुभयो ।
कृषि विकास बैङ्कबाट कृषि कर्जा लिएपछि ऋणको प्रकृतिअनुसार केही रकम किसानले पहिल्यै लैजान्छन् । त्यसपछि कृषि कर्मको अर्को चरणका लागि चाहिने पैसा लिन किसान चेक बोकेर पुनः बैङ्कको शाखासम्म पुग्नुपर्ने झन्झटबाट क्रेडिट कार्ड बोक्ने किसान मुक्त हुने छन् ।
क्रेडिट कार्डवाहक कृषकलाई पैसा चाहिएको सूचना बैङ्कले पाएपछि आफूले तोकेको भुक्तानी प्रयोगकर्तालाई एकपटकका लागि प्रयोग हुने युजर आईडी र पासवर्ड उपलब्ध गराउँछ र सोही आधारमा भुक्तानी प्रदायकले किसानलाई रकम उपलब्ध गराउने भन्दै बैङ्कका प्रवक्ता पौडेल ग्रामीण बजार केन्द्रमा भएका व्यक्तिहरूलाई पनि सिस्टममा इनरोल गर्ने र किसानका लागि आवश्यक नगद स्थानीय तहबाट नै सिर्जना गरिदिने पनि कार्डको उद्देश्य भएको बताउनुहुन्छ ।

निजी बैङ्कबाट धमाधम

पछिल्लो समय निजी क्षेत्रका बैङ्कले पनि किसानको समृद्धिका लागि र व्यावसायिक किसानलाई प्राथमिकतामा राख्ने भन्दै धमाधम किसान क्रेडिट कार्ड सञ्चालनमा ल्याउन थालेका छन् । झन्डै एक महिना अगाडि सिभिल बैङ्कले ‘किसान समृद्धि कार्ड’को सुविधा सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरूप सम्पूर्ण कृषकको समृद्धिका लागि बैङ्कले क्रेडिट कार्ड सेवाको सुरुवात गरेको हो ।
कुनै पनि कृषि पेसामा आबद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रूपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाका रूपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको बैङ्कले जनाएको छ । मेगा बैङ्कले व्यावसायिक किसानलाई प्राथमिकतामा राख्दै दुई साता अगाडि ‘मेगा किसान कार्ड’सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?