logo
२०८० चैत्र १५ बिहीवार



तातोपानी नाका यसै साताबाट सुचारु हुँदै

अर्थ |


तातोपानी नाका यसै साताबाट सुचारु हुँदै
तातोपानी भन्सार सुख्खा वन्दरगाहको अवलोकन गर्नुहुँदै परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली



बिदुर आचार्य
चौतारा, कात्तिक २ गते । तातोपानी नाकाबाट एक साताभित्र सामाग्री आयातमा सहजीकरण भैरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । शनिबार तातोपानी भन्सार र बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको अवलोकन गर्नुहुँदै मन्त्री ज्ञवालीले नेपालीको मुख्य चाडपर्व बेला नाका तत्काल स्वास्थ्य सतर्कता अपनाएर खुलाउने प्रयत्न जारी रहेको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह र सडकको अवलोकनपश्चात् सडक विस्तार गर्न आवश्यकता देखिएको पनि उहाँले बताउनुभयो ।

‘कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखी नाका सञ्चालनको प्रयत्न भएको छ’, मन्त्री ज्ञवालीले भन्नुभयो, ‘चिनियाँ पक्षलाई आश्वस्त बनाई केही दिन भित्र सामाग्री आयात सुरु हुनेछ ।’ सडकको अवस्था सुधारको लागि तत्काल प्रयत्न रहने मन्त्री ज्ञवालीको भनाइ थियो ।

नेपालमा कोरोना संक्रमणको दर बढ्दै गर्दा सामान आयात गर्ने केही ब्यवसायी तथा कामदारमा संक्रमण देखिएकाले गत साता एक दिन सञ्चालनपश्चात् भन्सार बन्द भएको थियो ।
नेपालको तर्फबाट नाका सञ्चालन गर्न आवश्यक तयारीको सन्दर्भमा मन्त्री ज्ञवाली अवलोकनमा आउनुभएको भन्सार प्रमुख लालवहादुर खत्रीले जानकारी दिनुभयो ।

‘तत्काल नाका खोल्न चिनियाँ पक्षलाई आग्रह गरिएको र पटक पटकको छलफलपछि आवश्यक मापदण्ड पूरा गरी तीन दिनपछि नाका सञ्चालनमा ल्याउनको लागि चिनिया पक्ष तयार रहेको छ’ खत्रीले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?