logo
२०८१ बैशाख ७ शुक्रवार

  दृश्य समाचार    



खोलौं प्रशासनको डर, नखोलाैं घरबेटी र भोकको त्रास

समाज |


खोलौं प्रशासनको डर, नखोलाैं घरबेटी र भोकको त्रास


मुकुन्द गैरे

काठमाडौं, असोज २४ गते । सप्तरी राजविराजका राजेश ठाकुरको पूर्खौली पेसा हो कपाल काट्ने अर्थात नाई पेशा । उहाँका बुबा, बाजेदेखि दाजुभाइ यही पेशाबाट  आफनो दैनिकी चलाउँदै आउनु भएको छ । उहाँको प्रमुख पेशा भनेकै उही नाई पेशा भएकाले विहान उठेदेखि बेलुका रातिसम्म कपाल काटेरै दिन बित्ने गरेको छ । १४ वर्षको उमेरदेखि यो पेशामा लाग्नु भएका ठाकुर अहिले ४२ वर्षको हुनुभयो ।

उहाँ काठमाडौंमा विगत ३१ वर्षदेखि कपाल काट्दै आउनु भएको छ । सानैमा यो व्यवसायमा लाग्नुभएका उहाँ लगनशिल नै भएर होला कपालै काटेर भक्तपुर दुवाकोटमा आफ्नै घर बनाउन सफल हुनुभएको छ । उहाँका छोरा पनि यही पेशा अँगाल्न थालेको बताउनुहुन्छ ।

तर अहिले भने लामो समयदेखिको कोरोनाको महामारीले गर्दा उहाँको व्यवसाय संकटमा परेको छ । उहाँको मात्रै होइन समग्र यो क्षेत्रमा अर्थात् शैलुन पसल अहिले पनि कानुनी रुपमा खोल्न पाईंदैन । धेरैले प्रशासनको डरकाबीच पनि लुकीछिपी खोल्न थालेका छन् । कपाल काट्न आउने ग्राहकको संख्या न्यून रहेको ठाकुर बताउनुहुन्छ ।

उहाँ नेपाल नाई संघ काठमाडौं जिल्लाको अध्यक्ष समेत हुनुहुन्छ । प्रशासनको लुकीछिपी पसल खोल्दा पनि दिनभरमा पहिलाको तुलनामा २५ प्रतिशत मान्छे मात्र कपाल काट्न आउने गरेको बताउनुहुन्छ । धेरै पसल बन्द गरेर गाउँमा गएकाहरु अझँै नफर्किएको उहाँ बताउनुहुन्छ ।

चिनजानेका पुराना ग्राहक विश्वास मान्ने मात्र कपाल काट्न आउने गरेको र नयाँ ग्राहक कमै आउने गरेको उहाँ बताउनुहुन्छ । आफूहरुले कोरोना संक्रमण नहोस् भनेर सेनिटाइजर मास्कदेखि स्वास्थ्य मापदण्ड अपनाएर मात्र पसल खोल्ने गरेको ठाकुरको दाबी छ ।

नेपाल नाई टे«ड यूनियन संघका अध्यक्ष गजेन्द्र ठाकुर कोरोनाको कारण नाई पेशा जटिल समस्यामा परेको बताउनुहुन्छ । मापदण्ड बनाएर आफूलाई पसल खोल्न दिन उहाँले सरकारसँग आग्रह गर्नुहुन्छ । लुकीछिपी केही पसल खोले पनि धेरै पसल अहिले पनि बन्द रहेको अध्यक्ष ठाकुर बताउनुहुन्छ ।

‘नखोलाै त घरबेटीलाई तिर्ने भाडा र भोकको चिन्ता, खोलौं प्रहरीको डर’ उहाँले यस्तो धारणा राख्नुभयो । सरकारले वैधानिक रुपमा मापदण्ड बनाएर खोल्न दिए मानिसको सरसफाईमा मद्दत पुग्ने उहाँले बताउनुभयो । शैलुन व्यवसाय खोल्न पाउनु पर्ने माग गर्दै सरकारलाई ज्ञापन पत्र समेत बुझाएको अध्यक्ष ठाकुर बताउनुहुन्छ ।

सरकारले मापदण्ड बनाएर खोल्न दिने आश्वासन दिए पनि खोल्ने विषयमा कुनै निर्णय नगरेको उहाँ बताउनुहुन्छ । यो पेशामा नेपाल भरमा करिव सवा लाख भन्दा बढी शैलुन पसल रहेकोमा दुई लाख भन्दा बढीले काम गर्ने गरेको उहाँको भनाइ छ । धेरै जसाे तराईको आर्थिक, सामाजिक राजनीतिक रुपमा पछाडि परेका यो क्षेत्रमा लागेर आफ्नो जीविका चलाइरहेका छन् । भारतबाट नेपालमा आएर पनि यस क्षेत्रमा काम गर्नेको संख्या त्यतिकै मात्रामा छन् ।

काठमाडौंलगायत शहरी क्षेत्रमा भारतीय श्रमिकहरु आएर काम गर्ने गरेका छन् । काठमाडौं उपत्यकामा मात्रै दस हजारको हाराहारीमा भारतीय श्रमिक यो क्षेत्रमा काम गरिरहेको अध्यक्ष ठाकुर बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहाल शैलुन पसल खोल्न दिने विषयमा कुनै निर्णय नभएको बताउनुहुन्छ ।

प्रशासनको निर्णय बिपरित शैलुक पसल खोलेको भन्ने कुरा आएको छ । उनीहरुलाई अनुगमन गरेर कारबाही गर्ने बताउनुहुन्छ । अटेर गरेर खोल्ने पसललाई बन्द गराउने काम भइरहेको दाहाल बताउनुहुन्छ । लुकीछिपि खोल्ने गरेका शैलुन पसलमा नजान प्रमुख जिल्ला अधिकारी दाहालको आग्रह छ । कोरोना संक्रमण थप फैल्न नदिन आम नागरिक नै सचेत हुन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप