logo
२०८० चैत्र १५ बिहीवार



तातोपानी नाका भोलिबाट खुल्ने, दशैं अघि सबै सामान ल्याइने

अर्थ |


तातोपानी नाका भोलिबाट खुल्ने,  दशैं अघि सबै सामान ल्याइने
केही दिन अघि सीमानामा भएकाे चिनियाँ पक्षसँगकाे बैठक (वायाँ)


चित्र मिजार
सिन्धुपाल्चोक, असोज १८ गते । तीन महिनादेखि बन्द तातोपानी नाका भोलिबाट सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो । असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।
खासा क्षेत्रमा नेपाली ब्यबसायीका डेढ सयको संख्यामा मालबाहक कन्टेनर छन् । ती कन्टेनर नेपाल भित्राउन नाका खुल्न लागेको हो । असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो ।
खासा क्षेत्रबाट कन्टेनर भित्रिएपछि सो नाका बन्द हुने वा संधैं सुचारु हुने भन्ने बिषयबारे केही निर्णय नभएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ । खासा क्षेत्रमा रहेको सामान चिनियाँ भन्सार एजेन्टले मितेरी पुलसम्म ल्याएर झारिदिन्छन् । मितेरी पुलबाट तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पिसिआर नेगेभिट रिपोर्ट आएका नेपाली मजदुरले लोड गरी ल्याउनेछन् । सामान लोड अनलोड गर्ने चिनियाँ र नेपाली मजदुरको प्रत्येक हप्ता कोभिड १९ परीक्षण भईरहने प्रजिअ ढकालले बताउनुभयो ।
तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले असोज १९ गतेबाट तातोपानी नाकाबाट दैनिक १६ वटा मालबाहक कन्टेनर नेपालीभूमि तातोपानी भन्सार कार्यालय भित्रिने बताउनुभएको छ । नजिकिएको बिजया दशमी अघि खासा क्षेत्रमा अडकिएका सबै कन्टेनर नेपाल आईपुग्नेछन् । सो कन्टेनर पछि नाका खुल्ने वा नखुल्नेबारे कुनै जानकारी आएको छैन् उहाँले भन्नुभएको छ । तातोपानी नाका र रसुवा नाका सधैं खोलिनु पर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले सरकारसंग आग्रह गर्नुभएको छ । उहाँका अनुसार तातोपानी नाका २०७२ सालको भूकम्पले बन्द भएपछि दश हजारभन्दा बढी ब्यापारी, मजदुरहरु बिस्थापित हुनुपरेको छ । ०७२ बैशाख १२ गतेको भूकम्पका कारण बन्द तातोपानी नाका २०७६ जेठ १५ गते खुलेको थियो । कोरोना महामारीको कारण देखाउदैं चीनले गएको माघबाट सो नाका बन्द गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?