logo
२०८० चैत्र १६ शुक्रवार



कामदारको पुनः एकीकरण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुग्दै

अर्थ |


कामदारको पुनः एकीकरण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुग्दै


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १४ गते । वैदेशिक रोजगारबाट फर्किएका कामदारको आप्रवासी पुनः एकीकरण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुगेको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताउनुभएको छ । आज हाम्रो सम्मान परियोजनाको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको वैदेशिक आप्रवासी कामदार पुनः एकीकरण योजना र कार्यक्रम विषयक छलफल भर्चुअल कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठले पहिलो चरणमा पुनः एकीकरणको नीतिगत परिभाषामा समस्या भएको बताउनुभयो ।
पुर्नएककीरण कार्यक्रम सामाजिक, आर्थिक र मानसिक रुपलाई लिएर परिभाषा गरिनु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा कसलाई सहभागी गराउने, उनीहरूलाई बोर्डको तर्फबाट के, कस्तो फाइदा दिने, कार्यान्वयनको चरणमा कुन–कुन तहसँग समन्वय गरेर जाने भन्ने विषयलाई समेटेर कार्यविधि बनेको श्रेष्ठको दाबी छ ।
हाल कोरोनाले गर्दा निकै प्रभावित भएकाले काठमाडौंमा मात्रै नभई स्थानीय तहमा नै गएर सञ्चालनमा ल्याउनुपर्ने भएकाले समस्या भएको बताउनुभयो ।
अहिले तत्काल चलायमान हुन नसकेको हुनाले कार्यान्वयनमा आउन नसकेको उहाँले बताउनुभयो ।
गत असोज ५ गतेको बोर्डको बैठकअनुसार श्रम मन्त्रालयमा नीतिगत सहमतिको लागि स्वीकृति लिएपछि कार्यान्वयनमा ल्याउन अनुरोध गरेको समेत जानकारी दिनुभयो । यो असोज महिनाभित्रमा स्वीकृत भएर आउने बताउनुभयो ।
पुनः एकीकरण कार्यक्रमलाई नेपाल सरकारको नीति अनुसार आन्तरिक श्रम बजारमा आउने श्रमिकहरू मध्ये बाध्यतावश वैदेशिक रोजगारीमा जाने ‘ट्रेन्ड’लाई न्यूनिकरण गर्दै जाने योजना रहेको बताउँदै श्रेष्ठले वैदेशिक रोजगारीबाट समस्यामा परेर फर्किने श्रमिकलाई सबैभन्दा पहिलो पुर्नमिलन, सामाजिक तथा आर्थिक हिसाबले शसक्तिकरण गर्दै अगाडि बढाउने नै योजना रहेको जनाएको छ ।
कार्यक्रम कार्यान्वयनको क्रममा सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहसँगै समन्वय र सहकार्य गरेर लगत साझेदारीको आधारमा जानुपर्ने भन्दै श्रेष्ठले कार्यक्रमसँग जोडिने कृषि, पर्यटन, नीजि तथा सरकारी क्षेत्रलाई सामाजिक आर्थिक रूपमा आवद्ध गराउने बताउनुभयो ।
त्यसैगरी, यही क्षेत्रमा काम गरिरहेका गैरसरकारी संघसंस्थाहरू, दातृनिकायहरू, विकास साझेदारीहरूलाई पनि आवद्ध गराउने कार्यविधिमा उल्लेख गरेको समेत जानकारी गराउनुभयो ।
‘अलेखबद्ध ढङ्गले काम गरेर फर्केका श्रमिकहरूमा पनि महिलाहरूको समस्या जटिल रहेको भन्दै श्रेष्ठले कार्यविधिमार्फत् दातृनिकाय, विकास साझेदार, नीजि क्षेत्र तथा स्थानीय क्षेत्रले समेटेर आर्थिक तथा प्राविधिक हिसाबले सहयोग गने श्रेष्ठको भनाइ छ ।
अहिले सबैभन्दा समस्या नै एकीकृत तथ्याङ्क रहेको भन्दै उनले विभिन्न श्रेत्रबाट तथ्याङ्क संकलन भएता पनि त्यो तथ्याङ्कले श्रमिककको पहिचान नहुने भएको बताउनुभयो । विदेशबाट फर्केका श्रमिकको आर्थिक, मानसिक लगायत विभिन्न समस्या भोगेर आएकाले पूर्ण रुपमा पहिचान गर्न समस्या भइरहेको उहाँले बताउनुभयो ।
सर्लाही जिल्लाका बागमती नगरपालिकाका उपमेयर लिला कुमारी मोक्तानले वैदेशिक रोजगारीमा गएका श्रमिकको स्थानीय तहमा यकिन तथ्याङ्क नभएको जानकारी दिनुभयो । हालसम्म कुन ठाउँकोे श्रमिक कुन देशमा श्रम गर्न गएका छन् र आन्तरिक श्रममै कति श्रमिक छन् भन्नेको कुनै तथ्याङ्क नभएको भन्दै उहाँले कोरोना महामारीले गर्दा श्रमिकको तथ्याङ्क संकलनमा जुटेको उहाँले बताउनुभयो । यसका साथै, मन्त्रालय वा संघीय सरकारबाट कुनै निर्णय वा निर्देशन नआएका कारण पनि नगरपालिकाले खासै ध्यान नदिएको उहाँले बताउनुभयो ।
त्यस्तै, बागमती नगरपालिकाले विदेशमा रोजगारी गुमाएर फर्केका श्रमिकलाई स्वदेशमै श्रम गर्नको लागि विभिन्न आयोजनाको योजना बनेको उहाँले बताउनुभयो ।
रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर श्रम गरी सीप सिकेर फर्केका श्रमिकलाई सरकारले ध्यान दिनुपर्ने प्राविधिक तथा व्यवसायिक तालिम विज्ञ खेम लेकाइले बताउनुभयो । लेकाइले बाध्यताले विदेशिनु परेता पनि फर्केको बेला सीप ल्याएको हुनाले सरकारले त्यहाँबाट ल्याएको सीप कहाँ प्रयोग गर्ने भन्नेमा सरकारले ध्यान दिएमा सबैभन्दा उत्तम हुने उहाँले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?