logo
२०८० चैत्र १६ शुक्रवार



च्याङ्ग्रा र खसीबोका घटस्थापनामै

अर्थ |
फिचर |


च्याङ्ग्रा र खसीबोका घटस्थापनामै



सीता शर्मा

काठमाडौँ, असोज १२ गते । आगामी दशैँका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्याङ्ग्रा किन्ने तयारी थालेको छ । खाद्य कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले घटस्थापनाभित्रै काठमाडौँमा च्याङ्ग्रा र खसीबोका ल्याउने गरी तयारी थालेको जानकारी दिनुभयो । त्यसका लागि कम्पनीले ढुवानी प्रस्ताव आह्वान गरेको छ । उहाँले तत्काल एक हजार च्याङ्ग्रा ढुवानीका लागि प्रस्ताव गरिएको र मागका आधारमा सङ्ख्या तलमाथि गर्न सकिने बताउनुभयो ।
खसीबोका लागि भने अघिल्ला वर्षमा जस्तै दाङको तुलसीपुर र मकवानपुरको हेटौँडाबाट ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले खाद्य कम्पनीले ल्याउने च्याङ्ग्रा र खसीबोकाले उपत्यकावासीको माग धान्ने नभएर बजार मूल्य नियन्त्रण गर्ने भएकाले अहिलेको अवस्था त्यही सङ्ख्या पर्याप्त हुने बताउनुभयो । उहाँले माग बढी नै भयो भने ल्याउन सकिने गरी तयारी गरेको पनि जानकारी दिनुभयो ।
दशैँलाई लक्षित गरेर कम्पनीले काठमाडौँमा हरेक वर्ष प्रचलित मूल्यभन्दा केही छुट दिएर खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । दशैँका बेला कालोबजारी नहोस्, मूल्य नियन्त्रणमा होस् भन्ने हाम्रो उद्देश्य हो, सुवेदीले भन्नुभयो । उहाँका अनुसार काठमाडौँ भित्रिने खसीबोका र च्याङ्ग्रा कम्पनीको बागमती अञ्चल कार्यालय थापाथलीबाट बिक्री वितरण गरिने छ ।
जफत गरिएको प्याज बिक्री
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसअघि जफत गरिएको प्याज प्रतिकेजी ६० रुपियाँमा बिक्री गरिरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको नेतृत्वमा बल्खुस्थित तरकारी बजारमा अनुगमन गर्ने क्रममा प्याजमा कालोबजारी गर्ने व्यापारीबाट जफत गरिएको १४६ क्विन्टल प्याज खाद्य कम्पनीले बिक्री गर्न थालेको हो । कम्पनीले गएको शुक्रबारदेखि खाद्य कम्पनीको थापाथलीस्थित बागमती अञ्चल कार्यालयबाट उक्त प्याज बिक्री गरेको कम्पनीका कार्यकारी प्रमुख सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्याज प्रतिकेजी ६० रुपियाँका दरले एक जनाले तीन केजीसम्म किन्न पाइने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?