logo
२०८० चैत्र १६ शुक्रवार



नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्ति गर्ने मन्त्रिपरिषद्काे निर्णय

मुख्य समाचार |


नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्ति गर्ने मन्त्रिपरिषद्काे निर्णय


गोरखापत्र अनलाइन
काठमाडौँ, असोज ११ गते । मन्त्रिपरिषद बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो ।
मन्त्री अर्यालकाअनुसार बाढी पहिरोमा परेकाहरूको उद्धार, राहत तथा आर्थिक सहयोगको बारेमा नियमितझैँ छलफल र निर्णय भएको छ । त्यस्तै, नेपाल–इजरायल सरकारबीच दुई देशको हितमा हुने विभिन्न सम्झौता र सहमतिमा हस्ताक्षर गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यिलाई दिने निर्णय पनि सरकारले गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकमा अन्य नियमित कार्यसूचीमा छलफल र निर्णय भएको मन्त्री अर्यालले जानकारी दिनुभयो । निर्णयबारे विस्तृत जानकारी सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्रीले पछि गराउनुहुने उहाँले बताउनुभयो ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान पनि बालुवाटारमा छलफल भएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि भएको दुई अध्यक्षबीचको छलफलले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य गरेको अनुमान गरिएको छ ।
पार्टीको सचिवालय बैठकले पार्टीको साङ्गठनिक एकताको बाँकी काम टुङ्ग्याउने ठोस आधार तयार गर्न अध्यक्षद्वयलाई १० दिनको जिम्मेवारी दिएको छ । त्यसको टुङ्गो असोज १६ भित्र लगाई सक्नुपर्ने छ । दुई अध्यक्षबीचको छलफल त्यही विषयमा गृहकार्य गरिरहेको बालुवाटार श्रोतको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?