logo
२०८० चैत्र १५ बिहीवार



समयमा उपचार नपाई मृत्यु

प्रदेश |


समयमा उपचार नपाई मृत्यु
सांकेतिक तस्बीर


कनकाई, असोज ६ गते । अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो ।

श्वासप्रश्वास समस्या भएपछि उहाँलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समयमा उपचार नपाएकै कारण तिम्सिनाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्रममा गरेको स्वाब सङ्कलनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि तिम्सिनाको सोमबार बेलुका ८ बजे झापाको कनकाई घाटमा परिवारका सदस्य र आफन्तजनका साथमा नेपाली सेनाले दाहासंस्कार गरेको बताइएको छ ।

स्व तिम्सिनाका छ छोरा र चार छोरी हुनुहुन्छ । स्व तिम्सिनाका ज्वाइँ दयाराम दाहाल ९सुलभ० राष्ट्रिय समाचार समिति ९रासस० सञ्चालक समितिको सदस्य तथा प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । स्व तिम्सिनाका कान्छा छोरा सुजन नेपाल पत्रकार महासङ्घ इलाम शाखा उपाध्यक्ष हुनुहुन्छ भने छोरी सृजना महासङ्घ ललितपुर शाखा उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै छोराहरू वासुदेव र गणेश तथा छोरीहरू मन्जु र निर्मला पनि विभिन्न सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?