logo
२०८१ बैशाख १२ बुधवार



सिरहा कारागारमा एकैदिन २५९ सङ्क्रमित, कुल ५०७ पुग्यो

खुला |


सिरहा कारागारमा एकैदिन २५९ सङ्क्रमित, कुल ५०७ पुग्यो



सन्तोष सुवेदी
सिरहा, भदौ ३१ गते । कोरोनाको हटस्पट बनेको सिरहा कारागारमा बुधबार २५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका कोभिड श्रोत व्यक्ति अम्देश्वर चौधरीका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणको नतिजामा सिरहा कारागारका २५९ जना कोरोना सङ्क्रमित भएको हो । कारागारमा रहेका २६९ कैदीबन्दीको स्वाब परीक्षण गर्दा बुधबार २५९ जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

दुई आश्रितसहित ५९७ कैदीबन्दी रहेको सिरहा कारागारमा यो सङ्ख्यासहित ५०७ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । सङ्क्रमितमध्ये सात जना कैदीबन्दी निको भएको कारागार प्रमुख बबिता महतोले जानकारी दिनुभयो । सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा समेत कारागारमा अधिकांश कैदीबन्दी सङ्क्रमित भएको उहाँको भनाइ छ ।

‘गत साउन २५ र २६ गते कोरोना परीक्षण नगरी जिल्ला प्रहरी कार्यालयले चारजना अभियुक्तलाई थुनछेकको लागि सिरहा जिल्ला अदालतमा बुझाएको थियो, अदालतको आदेशबाट चारजना थुनुवालाई पुर्पुक्षका लागि यहाँ पठाइएको थियो’, कारागार प्रमुख महतोले भन्नुभयो– ‘त्यतिखेर स्वाब सङ्कलन गरिए पनि उनीहरुको रिपोर्ट आएको थिएन, पछि उनीहरु सबैमा कोरोना पुष्टि भयो ।’

सोही चार जना अभियुक्तबाटै कारागारमा सङ्क्रमण फैलिएको अनुमान गरिएको छ । साउन २६ गतेसम्म कारागारभित्र कसैलाई सङ्क्रमण देखिएको थिएन । कारागारका झण्डै ८५ प्रतिशत कैदीबन्दीलाई कोरोना सङ्क्रमण भएपछि उनीहरुलाई कहाँ राखेर उपचार गर्ने भन्ने बारे कारागार प्रशासन तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको लागि टाउको दुःखाईको विषय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?