logo
२०७७ असोज १४ बुधवार

चार महिनाभित्र सामान्य अवस्थामा फर्कनेछाैँ

अर्थ |
अन्तरवार्ता |


2020-08-17-20694


कोरोनाभाइरस (कोभिड १९) सङ्क्रमणको असर र जोखिमले मानिसको दैनिक जीवन नै कठिन अवस्थामा धकेलेको छ । दैनिक जीवनका गतिविधि चलायमान नभएसँगै आर्थिक क्षेत्रमा पनि धक्का लागेको छ । यस्तो अवस्थामा कोरोना महामारीपछि नेपालको अर्थतन्त्र कस्तो रहला र अर्थतन्त्र चलायमान बनाउन के गर्नुपर्ला ? लगायत समसामयिक विषयमा गोरखापत्र अनलाइनका पत्रकार मुकुन्द गैरेले अर्थविद् डा. डिल्लीराज खनालसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ।


– कोरोनाको कारण विश्वको अर्थतन्त्रलाई नै ठुलो धक्का दिएको भन्ने बताइन्छ । अब नेपालको महामारीपछिको अर्थतन्त्र कस्तो रहला ?
कोरोनाले विश्वभरिको अर्थतन्त्रलाई नै प्रभाव पारेको छ । यसको प्रत्यक्ष–अप्रत्यक्ष असर नेपालमा पनि पारेको छ । हामी तीनदेखि चार महिनाको बीचमा कोरोना सङ्कटबाट सामान्य अवस्थामा फर्कन्छौँ भन्ने मेरो अनुमान छ । सरकारले देशको अर्थतन्त्रलाई जोगाउन विभिन्न किसिमका कामहरू अगाडि ल्याएको छ । सरकारले राहत प्याकेजदेखि विभिन्न किसिमका सुविधा, छुटहरू मौद्रिक नीतिमार्फत सम्बोधन गरेको छ । यस्तो किसिमको नीतिले उद्योग व्यवसायीहरूलाई राहत मिलेको अवस्था छ ।
होटल, पर्यटन, निर्माण, उद्योग, यातायातलगायत क्षेत्रमा अनुमान गरेभन्दा बढी असर गरेको पक्कै हो । छिमेकी देशमा व्यापक रुपमा फैलिँदैगएको कारोनाको असर नेपाललाई पनि परेको छ ।
नेपालको अर्थतन्त्रमा योे चार महिनाको अवधिमा असर पारेको भएता पनि अघिल्लो वर्ष अर्थतन्त्र अवस्था राम्रो देखिन्छ । अहिले यो वर्ष मेरो अनुमानमा कोरोना केही महिनाभित्र नियन्त्रणमा आउँछ । कोरोनाले भूकम्पजस्तो भौतिक सम्पत्ति ध्वस्त पार्ने काम गर्दैन । जहाँ–जहाँ बढी कोरोनाको प्रभाव बढी छ, त्यस क्षेत्रमा अलि कडा बनाउने र सङ्क्रमण कम भएको क्षेत्रमा सावधानी अपनाएर उद्योग, व्यवसाय खोल्नुपर्छ । पहिला लकडाउन हुँदा अर्थतन्त्रमा केही असर गरेको भए पनि लकडाउन खुलेसँगै अर्थतन्त्र चलायमान भएको देखिन्छ । आशा गराँै, केही महिनाभित्र कोरोनाले पारेको सङ्कट सामान्य अवस्थामा फर्किएसँगै आगामी दिनमा अर्थतन्त्र चलायमान हुने छ ।

 नेपालमा फेरि कोरोना सङक्रमण बढेसँगै मानिसले गर्ने गतिविधिमा कडाइ गरेको देखिन्छ ? अब उद्योग व्यवसाय कसरी सञ्चालन गर्नुपर्ला जस्तो लाग्छ तपाईंलाई ?
अवस्था हेरेर धेरै देशले कोरोनाको चुनौतीका बीचमा पनि उद्योग व्यवसाय चलाएको अवस्था छ । जस्तो इथियोपिया देशले लकडाउन गरेको पाइएन । यस्तै भियतनामले पनि पृथक ढङ्गले अर्थतन्त्र चलायमान बनाएको देखिन्छ । धेरै कोरोना सङ्क्रमण फैलिएको क्षेत्रमा अलि कडा गर्ने र कम भएको ठाउँमा सुरक्षाका उपाय अपनाएर उद्योग व्यवसाय चलाउनुपर्छ । कोरोना कारण देखाएर उद्योग, व्यवसाय ठप्प पार्दा अर्थतन्त्रमा ठूलो असर पर्न सक्छ । सबै ठप्प पारेपछि सरकारले जनतालाई राहत दिनसमेत बजेटको अभाव हुन्छ । अर्थतन्त्र चलायमान हुने स्रोत नै खुम्चिएर बाहिरबाट रेमिट्यान्स ठप्प हुँदाको अर्थतन्त्र भयाभह भई जटिल मोडमा जाने खतरा रहन्छ । खास गरी स्वास्थ्य विज्ञसँग सरकारले सुझाव लिएर उनीहरूको समन्वयमा सरकारले सुरक्षा अपनाएर उद्योग व्यवसाय चलाउने रणनीतिमा लाग्नुपर्छ जस्तो मलाई लाग्छ ।

– कोरोनाको यो महामारी बीचमा कस्ता–कस्ता खालका उद्योग व्यवसाय, आयोजना, परियोजना सञ्चालन गर्न आवश्यक छ जस्तो लाग्छ ?
उद्योग व्यवसायको जोखिम क्षेत्र पहिल्याएर खोल्न सकिन्छ । उद्योगको व्यवसायको क्षेत्र जस्तै, ठूला गौरवका आयोजना, विदेशी आयोजना, निजी निर्माण क्षेत्र, कृषि र साना उद्योगलाई सञ्चालन गर्ने सकिन्छ । खास गरी गाउँगाउँमा कृषि क्षेत्रलाई अगाडि बढाउन सकिन्छ ।

– सरकारले लिएका लक्ष्यहरूमा बजेट कार्यान्वयन कसरी गर्नुपर्ला जस्तो लाग्छ ?
कोरोना महामारी एउटा अप्रत्यासित रुपमा आएको महाविपत्ती हो । यो सरकार वा कसैको नियन्त्रणबाहिर छ । संसारका विकसित देशहरूले कोराना नियन्त्रण गर्न अर्बौ  रकम लगानी गरे पनि सोचेअनुसार काम गर्न सकेको अवस्था देखिँदैन । विश्वमा बेरोजगारी त्यतिकै मात्रामा बढेको छ । विश्वको ठूलो देश अमेरिकालयायत छिमेकी देशमा पनि आर्थिक स्थिति खुम्चिँदैगएको छ । सरकारले थोरै समयमा जुन किसिमको लक्ष्य प्राप्त गर्ने सोचेको थियो, त्यो स्थिति पनि छैन तर अहिले नै निरास हुने अवस्था पनि छैन । अहिले देखिएको खतरालाई सामना गर्दै अगाडि जानुपर्छ जस्तो मलाई लाग्छ ।

– नेपालको अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सको महत्वपूर्ण योगदान रहँदैआएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरू कोरोनाको कारण स्वदेश फर्कन थालेका छन् । उनीहरूलाई स्वदेशमा रोजगारीको व्यवस्था कसरी गर्न सकिन्छ ?
वैदेशिक रोजगारीबाट स्वदेश फर्कने नेपालीलाई नेपालमा भएको स्थानीय स्रोत साधन प्रयोग गरेर रोजगारी सिर्जना गर्ने धेरै बाटाहरू छन् । विदेशबाट फर्किनेलाई कृषि क्षेत्रमा लगाउन सकियो भने धेरै रोजगारी दिन सकिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पनि रोजगारी सिर्जना गर्न सकिन्छ । यूवाहरूलाई सहुलित ऋण दिएर प्रभावकारी रुपमा अगाडि ल्याउन सकियो भने ठूलो मात्रामा बेरोजगारी समस्याको समाधान गर्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?