logo
२०८० चैत्र १५ बिहीवार



कोरोनाका मृतकले पाउँदैनन् मलामी, पाउँछन् सलामी

पढ्नै पर्ने |


कोरोनाका मृतकले पाउँदैनन् मलामी, पाउँछन् सलामी


नवीन शिशिर विक

बागलुङ, साउन ३० गते । बागलुङको निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको असार २१ गते क्वारेन्टाइनमा मृत्यु भयो । कोरोना सङ्क्रमण फैलिएसँगै भारतमा मजदुरी गुमाएपछि असार २ गते गृह जिल्ला फर्केर ढोरपाटन नगरपालिका–४ खुङ्गाको छोरेगाउँ माविको क्वारेन्टिनमै रहेको अवस्थामा विक मृत्यु भएको थियो ।

विक नेपाल फर्कँदै गर्दा भारतमा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको थियो । जोखिम क्षेत्रबाट आएको कारण विकको पनि असार १२ गते कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न पोखरा पठाइयो । तर कोरोना रिपोर्ट मृत्युपछि मात्र सार्वजनिक भयो ।

विदेशबाट सुरक्षाको खोजीमा घर फर्केका विकले जिउँदो छँदा रिपाेर्ट ढिला आउँदा उपचार त पाउनुभएन, मृत्युपश्चात मलामीसमेत भएनन् । कारण मृत्युपश्चात कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । सरकारले कोरोना सङ्क्रमितको शव व्यवस्थापन नेपाली सेनाले गर्ने निर्देशिका जारी गरेको हुँदा विकलाई मृत्युपश्चात न त आफन्तले पानी खुवाउन पाएन न त मलामी भएर घाटसम्म पुगे ।

‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्ने नेपाली उखानलाई कोरोनाले बन्देज लगाइदिएको छ । तामझामका साथ हुने विवाह पनि बन्द भएको छ भने मृतकले मलामी पनि पाउँदैनन् ।
सङ्क्रमितको मृत्युपश्चात पनि कोरोना फैलने त्रासले गर्दा सङ्क्रमितको शव व्यवस्थापनलाई विशेष निर्देशिका छ । जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाली सेनाले शवको व्यवस्थापन गर्छ । विकको शव पनि ढोरपाटन नगरपालिका लुकुरवनको खोला किनारमा नेपाली सेनाको अर्जुनवाण गणअन्तर्गतका सत्रुमर्दन गुल्मका तीन जना सैनिकले अन्तिम सलामी अर्पण गरी अन्त्येष्टि गरेका थिए ।

साधारण मजदुरी गर्दै जीवन निर्वाह गर्नुभएका विकले उच्च पदस्थ व्यक्तिको मृत्युपश्चात जस्तै नेपाली सेनाको सलामी त पाउनुभयो तर आफ्नै घरमा आए पनि मलामी पाउनुभएन । सङ्क्रमणको कारण मृत्यु भएमा कुनै पनि जात, समुदायले आफ्नो परम्पराअनुसार अन्तिम संस्कार गर्न नपाउने निर्देशिका जारी भएको जिल्ला प्रशासन कार्यालय बागलुङका सुचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

‘परिवारले शव छुनसमेत नपाउने भए पछि संस्कार गत कुरा त धेरै टाढाको भयो’ उहाँले भन्नुभयो, ‘ संक्रमितले मलामी गुमाए पनि सलामी पाउने गरेका छन् । घरमा भने परिवारले आफ्नो परम्परा अनुसार काजकिरिया गरेका थिए ।

‘अहिले हामी कोरोना सङ्क्रमणलाई सामान्य रुपमा लिएका छौँ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भन्नुभयो, ‘यसले महामारीको रुप ग्रहण ग-यो भने न मलामी न सलामी हुने दिन पनि आउन सक्छ ।’ अझै पनि जनस्वास्थ्यका मापदण्डलाई सबैलाई कार्यान्वयन नगर्ने हो भने जोखिम कायमै रहेको गुरौको भनाइ छ ।

बागलुङमा चैत्रदेखि यता २६३ जनामो कोरोना सङ्क्रमण भएको थियो । तीमध्ये चार जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र दुई जना क्वारेन्टाइनमा खाना खुवाउने समुदाय स्तरका व्यक्ति रहेका थिए । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ भने २४४ जना निको भएर घर फर्केका छन् ।

धौलागिरी अस्पतालको आइसोलेसनमा १७ र नरेठाँटीको आइसोलेसनमा एक गरी कुल १८ जना सङ्क्रमित उपचाररत रहेका छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोख्रेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?