logo
२०८१ बैशाख १२ बुधवार



खाद्यान्न सञ्चय विशेष योजना

मुख्य समाचार |


खाद्यान्न सञ्चय विशेष योजना


सीता शर्मा

काठमाडौँ, साउन २९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू आर्थिक वर्ष २०७७÷७८ मा एक लाख टनभन्दा बढी खाद्यान्न खरिदका लागि करिब चार अर्ब नौ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
कम्पनीले देशमा आउन सक्ने अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर खाद्यान्न मौज्दात राख्ने, व्यावसायिक कारोबार गर्नुका साथै दुर्गम जिल्लामा खाद्यान्न आपूर्ति गर्न उक्त रकम विनियोजन गरेको हो । कम्पनीका अनुसार बजारमा खाद्यान्न आपूर्ति व्यवस्थालाई सहज बनाउन एक लाख टन खाद्यान्न खरिद गर्न लागेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसपटक व्यापार गर्ने उद्देश्यसहित ६० हजार मेट्रिक टन धान र २५ हजार मेट्रिक टन चामल खरिद गर्ने लक्ष्य लिएर धानका लागि एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार रुपियाँ र चामलका लागि करिब एक अर्ब २६ करोड ९२ लाख रुपियाँ छुट्ट्याइएको छ । सरकारले मोटा र मसिना धानको निर्धारण गरेको समर्थन मूल्यअनुसार कम्पनीले धान खरिद गर्ने सूचना अधिकारी सुवेदीले बताउनुभयो । सरकारले यस वर्ष धानको समर्थन मूल्य तोकिसकेको छ । मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यमको दुई हजार ८५८ रुपियाँ कायम गरिएको छ ।
उहाँले चामलका लागि भने केही समयभित्रै टेन्डर गर्ने तयारी गरेको जानकारी दिनुभयो । यस वर्ष कम्पनीले गत वर्षभन्दा दोब्बर परिमाणमा धान खरिद गर्ने लक्ष्य लिएकाले धान उत्पादन हुने पकेट क्षेत्रमा गएर खरिद प्रक्रिया सुरु गर्ने गरी तयारीमा भएको पनि उहाँको भनाइ छ ।
कम्पनीले यस वर्षका लागि पाँच हजार मेट्रिक टन गहुँ खरिद गर्न पनि १५ करोड ५८ लाख रुपियाँ विनियोजन गरेको छ भने ७३ करोड रुपियाँ बराबरको १० हजार टन चिनी खरिद गर्न लागेको कम्पनीले जनाएको छ । चिनी खरिद गर्न कम्पनीलाई सरकारले अनुमति दिइसकेको छ ।
यस्तै कम्पनीका अनुसार कम्पनीले दुई करोड ४७ लाख रुपियाँ बराबरको २५० मेट्रिक टन कर्णालीको सिमी खरिद गर्ने लक्ष्य लिएको छ भने ९८ लाख ८० हजार रुपियाँ बराबरको एक सय मेट्रिक टन मुसुरोको दाल, एक करोड ४४ लाख ६० हजार रुपियाँको रहरको दाल खरिद गर्न लागेको छ । यस्तै कम्पनीले यो वर्ष ७१ लाख २५ हजार रुपियाँ बराबरको ५० टन मासको दाल र १८ लाख रुपियाँ बराबरको २० टन भटमास खरिद गर्ने लक्ष्य लिएको जनाएको छ ।
त्यसैगरी कम्पनीले चालू आर्थिक वर्षमा २३ लाख रुपियाँ तोरीको तेल र १६ लाख ५० हजार रुपियाँ बराबरको सनफ्लावर तेल खरिद गर्न लक्ष्य लिएको पनि जनाएको छ । यस्तै कम्पनीले छ सयवटा इन्डक्सन चुलो र दसैँ तिहारलाई लक्षित गरेर तीन हजार च्याङ्ग्रा र खासीबोका ल्याउने लक्ष्य पनि लिएको छ ।
सूचना अधिकारी सुवेदीले उपभोक्तालाई राहत पुगोस् भनेर कम्पनीले यो वर्षदेखि कम्पनीले ठूलो परिमाणमा खाद्यान्नको कारोबार गर्न लागेको बताउनुभयो । उहाँले विगतका वर्षमा खाद्य संस्थानले केही सीमित मात्रै खाद्यान्नको कारोबार गर्दै आएकोमा यो वर्षदेखि व्यापक र ठूलो परिमाणमा खरिद गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
कम्पनीले गत वर्षदेखि सार्क खाद्य सुरक्षा भण्डारणमा समेत खाद्यान्न मौज्दात गर्दै आएको छ । मुलुकमा आउने बाढीपहिरो, प्राकृतिक विपत्तिका लागि भनेर कम्पनीले ठूलो परिमाणमा खाद्यान्न मौज्दात गर्ने गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?