logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रपति ट्रम्पको प्रेस ब्रिफिङकै क्रममा ह्वाइट हाउस अघिल्तिर गोली चल्यो

अन्तर्राष्ट्रिय |


राष्ट्रपति ट्रम्पको प्रेस ब्रिफिङकै क्रममा ह्वाइट हाउस अघिल्तिर गोली चल्यो
तस्विर–डेली मेल


वासिङ्टन, साउन २७ गते । ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि सोमबार गोली चलाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजनबाट पत्रकार सम्मेलन गरिरहेको समयमा उक्त घटना भएको थियो । अधिकारीहरूले पत्रकार सम्मेलनकै बीचमा राष्ट्रपति ट्रम्पलाई घटनाका बारेमा जानकारी गराएका थिए ।
अमेरिकी गुप्तचर सेवाका प्रमुख टम सुलिभानले ह्वाइट हाउस परिसर सुरक्षित रहेको र कसैबाट खतरा नरहेको बताउनुभयो । सुलिभानले गोली लागेका व्यक्तिले आफूसँग हतियार रहेको दाबी गरेको बताउनुभएको छ । नाम थर नखुलाइएका ती ५१ वर्षीय पुरुषले गुप्तचर सेवाका अधिकृतमाथि एक्कासि जाइलागेको पनि सुलिभानले बताउनुभयो । कानुन कार्यान्वयन अधिकारीहरूले ती व्यक्तिको उद्देश्य पहिल्याउने प्रयास गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग सम्बन्धित विवरण सार्वजनिक गर्नै लाग्दा अमेरिकी सिक्रेट सर्भिसका एजेन्टले ट्रम्पलाई ब्रिफिङ कक्षबाट भित्र लगेका थिए । राष्ट्रपति ट्रम्प ९ मिनेटपछि पुनः ब्रिफिङ कक्षमा प्रवेश गर्नुभएको थियो । उहाँले ह्वाइट हाउसबाहिर गोली चलेको र त्यो नियन्त्रणमा आइसकेको जानकारी दिनुभएको थियो ।
ट्रम्पले भन्नुभयो, “त्यहाँ साँच्चिकै गोली चलेको र एक व्यक्तिलाई अस्पताल लगिएको छ ।”
ट्रम्पले एजेन्टले आफूलाई ओभल अफिसमा लगेको जानकारी पनि दिनुभयो । उक्त घटनापछि ह्वाइट हाउसलाई लकडाउन गरिएको थियो । सोमबार साँझ सुलिभानले जारी गरेको एक वक्तव्यमा गोलीकाण्ड स्थानीय समयअनुसार साँझ ६ बजे भएको उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप