logo
२०८१ बैशाख १२ बुधवार



रिभर्स रिपोमार्फत फेरि २० अर्ब रूपियाँ तानिँदै

अर्थ |
फिचर |


रिभर्स रिपोमार्फत फेरि २० अर्ब रूपियाँ तानिँदै


गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २३ गते । नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि साउन दोस्रो सातायताको अवधिमा दुईपटक गरी ४० अर्ब रुपियाँ खिच्दै छ ।
रिभर्स रिपोमार्फत एक साता अगाडि बैङ्कहरूबाट २० अर्ब रुपियाँ खिचिसकेको राष्ट्र बैङ्कले फेरि २० अर्ब रुपियाँ रकम खिच्न लागेको हो । सात दिन अवधि रहने रिभर्स रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले अक्सनमा भाग लिनसक्ने राष्ट्र बैङ्कले बिहीबार जारी गरेको सर्कुलरमा उल्लेख छ ।
आगामी सात दिनको अवधिको उक्त रिभर्स रिपो एक सातापछि अर्थात् साउन २९ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
जारी गरिने रिभर्स रिपो लिन चाहने बैङ्कले बिहीबार दिउँसो २ः०० बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्नसक्ने व्यवस्था गरिएको थियो ।
यसअघि पनि बैङ्क तथा वित्तीय प्रणालीमा तरलता भएको भन्दै राष्ट्र बैङ्कले २० अर्ब रुपियाँ तानेको थियो । बैङ्कहरूमा दुई खर्ब रुपियाँभन्दा बढी तरलता थुप्रिएपछि राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत सो परिणामको रकम तान्न लागेको हो ।
एक सातामा परिपक्व हुनेगरी जारी गरिएको अघिल्लो रिभर्स रिपो साउन २२ गते बिहीबार परिपक्व भएको छ । बैङ्क तथा वित्तीय संस्थामा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैङ्कले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दै आएको छ । बजारमा तरलता अभाव भएका बेला पनि रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दै आएको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुभयो । हाल बैङ्किङ प्रणालीमा २१४ अर्ब रुपियाँ तरलता रहेको पनि उहाँले जानकारी दिनुभयो ।
राष्ट्र बैङ्कले गत साता जारी गरेको रिभर्स रिपो परिपक्व भएपछि पुनः जारी गर्न लागेको हो । साउन १५ गते पनि केन्द्रीय बैङ्कले सात दिन अवधिको २० अर्ब रुपियाँको रिभर्स रिपोमार्फत तरलता खिचेको थियो । उक्त रिभर्स रिपोको म्याद बिहीबार सकिएको हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?