logo
२०८१ बैशाख ८ शनिवार



एनसेल बन्यो पब्लिक कम्पनी सेयर जारी गर्ने बाटो खुल्यो

अर्थ |


एनसेल बन्यो पब्लिक कम्पनी सेयर जारी गर्ने बाटो खुल्यो



गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २२ गते । नेपालकै ठूला र नाफामूलक कम्पनीमध्येको एनसेललाई सर्वसाधारणमा सेयर जारी गर्ने बाटो खुला भएको छ । कम्पनी रजिस्ट्रार कार्यालयले यही सोमबार एनसेलको स्वामित्व संरचना परिवर्तन गर्न दिने निर्णय गरेसँगै सेयरको प्रक्रियामा अघि बढ्न कम्पनीलाई सहज भएको हो ।
कार्यालयले यसअघि एनसेल प्रालिका रूपमा सेवा प्रदान गरिरहेको कम्पनीलाई निजी कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गर्ने निर्णय गर्न दिने निर्णय गरेको थियो । यससँगै निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलको नाम पनि परिवर्तन भएर एनसेल आजियटा लिमिटेड राखिएको छ ।
एनसेलले २०६१ भदौ १६ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो । त्यतिबेला स्पाइस नेपाल प्रालिले मेरो मोबाइलको नाममा दूरसञ्चार सेवा सुरु गरेको थियो । मेरो मोबाइलको नाममा आफ्नो सेवा बिक्री गर्दै आएको स्पाइस नेपालले सन् २०१० मा स्विडेनको दूरसञ्चार कम्पनी टेलियासोनेरालाई बिक्री गरेपछि त्यसयता एनसेलका रूपमा सेवा सञ्चालन हुँदै आएको छ ।
मुख्य लगानीकर्ता टेलियासोनेराले २०७२ पुस ६ गते एनसेलमा रहेको आफ्नो ६०.४ प्रतिशत सेयर एक अर्ब तीन करोड अमेरिकी डलरमा मलेसियाली कम्पनी आजियटालाई बिक्री गर्ने निर्णय सार्वजनिक गरेको थियो । सो निर्णयपछि त्यतिबेला एनसेलमा स्थानीय साझेदारका रूपमा रहेका निरज श्रेष्ठको २० प्रतिशत सेयर पनि एजियटाले छनोट गरेको स्थानीय साझेदार भावना सिंह श्रेष्ठलाई बिक्री गरिएको थियो ।
भाइजर क्यापिटलको नाममा बाँकी रहेको १९.६ प्रतिशत सेयर पनि एजियाटाई नै पछि बिक्री गरिएको थियो । यसअनुसार एनसेलको ८० प्रतिशत सेयर हाल आजियटा र बाँकी २० प्रतिशत सेयर स्थानीय साझेदार श्रेष्ठसँग रहेको छ । आजियटाले २०७३ वैशाखमा एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी सम्पूर्ण काम पूरा गरेर कम्पनी आफ्नो मातहत ल्याएको थियो ।
टेलियासोनेराबाट आजियटालाई सेयर बिक्री गर्दा नेपाललाई प्राप्त हुने लाभकरको विषयमा लामो समय विवाद भएपछि पब्लिक कम्पनीमा रूपान्तरण हुने प्रक्रिया अलमलमा परेको थियो । कानुनतः गत वैशाखमै पब्लिक कम्पनीमा रूपान्तरण भइसक्नुपर्नेमा त्यसको एक वर्षभन्दा बढी समय घर्किएपछि एनसेलको संरचना रूपान्तरण भएको हो ।
देशकै सबैभन्दा ठूलो संस्थागत करदाताका रूपमा समेत रहेको एनसेलको वार्षिक आम्दानी औसतमा ५० अर्ब रुपियाँभन्दा माथि छ । हाल यसका एक करोड ५९ लाख मोबाइल ग्राहक छन् । कुल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ६४ लाखमाथि छ । त्यसमध्ये करिब ३७ लाख फोरजी प्रयोगकर्ता छन् । नेपालको दूरसञ्चार बजारमा एनसेलको हिस्सा ४२.११ प्रतिशत छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?