logo
२०८० चैत्र १५ बिहीवार



घट्दै मोबाइल प्रयोगकर्ता, एक महिनामै घटे नौ लाख

मुख्य समाचार |


घट्दै मोबाइल प्रयोगकर्ता, एक महिनामै घटे नौ लाख


विश्वास रेग्मी

काठमाडौँ, साउन १८ गते । करिब तीन करोड जनसङ्ख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । सेवा विस्तारको प्रतिस्पर्धामा सेवा प्रदायकले सिमकार्ड वितरणलाई बजार हिस्सा मान्न थालेपछि पछिल्लो एक वर्षयता मासिक तीन लाखभन्दा बढी सिमकार्ड वितरण हुन थाल्यो ।
तर सिमकार्ड बिक्रीमा दिनानुदिन बढ्दो ग्राफ यतिबेला भने तल झर्न थालेको छ । आश्चर्य त के छ भने दूरसञ्चार सेवा प्रदायकको यसअघि मासिक ग्राहक बढ्ने दरभन्दा घट्ने दर दोब्बरभन्दा बढी छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार पुसपछि जीएसएम ग्राहकको कुल सङ्ख्यामा व्यापक गिरावट आउन थालेको हो । पुसमा जीएसएम ग्राहकको सङ्ख्या अहिलेसम्मकै बढी अर्थात् चार करोड पाँच लाख ९२ हजार पुगेपछि माघमा एकैपटक करिब १६ लाखले घटेर तीन करोड ९१ लाख १३ हजार पुग्यो । त्यतिबेला ग्राहक गुमाउने सरकारी लगानीको नेपाल टेलिकम मात्रै थियो ।
माघपछि एकैपटक करिब २८ लाखले जीएसएम ग्राहक घटेर फागुनमा कुल सङ्ख्या तीन करोड ६३ लाख पुग्यो । कुनै एउटा महिनामा दूरसञ्चार सेवा प्रदायकले गुमाएको अहिलेसम्मकै धेरै सङ्ख्यासमेत थियो त्यो । त्यतिबेला पनि ग्राहक गुमाउने नेपाल टेलिकम मात्रै थियो । प्रतिस्पर्धी एनसेल र स्मार्ट टेलिकमको ग्राहक सङ्ख्या बिस्तारै उकालो लाग्ने क्रममै थियो । चैतसम्म पुग्दा ठूलो सङ्ख्यामा ग्राहक गुमाउने प्रवृत्तिमा बे्रक लागेर तीन करोड ६२ लाख कायम भयो । त्यतिबेला ग्राहक गुमाउनेमा एनसेल मात्र थियो । एनसेलले करिब एक लाख ग्राहक गुमाएको थियो । टेलिकमले भने सामान्य भए पनि आफ्नो ग्राहक आधार बढायो ।
प्राधिकरणले पछिल्लोपटक जेठसम्म सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीएसएम ग्राहकको सङ्ख्या तीन करोड ५३ लाख ३५ हजार छ । जुन त्यसअघिको वैशाखको तुलनामा आठ लाख ३७ हजारले कम हो । वैशाखमा जीएसएम ग्राहक सङ्ख्या तीन करोड ६१ लाख ७२ हजार थियो । त्यतिबेला टेलिकमको ग्राहक सङ्ख्या एक करोड ७७ लाख र एनसेलको करिब एक करोड ६३ लाख थियो । जब कि जेठमा दुवै कम्पनीका ग्राहक घटेर टेलिकमको एक करोड ७२ लाख ७७ हजार र एनसेलको एक करोड ५९ लाख १६ हजार कायम थियो ।
यसको अर्थ टेलिकमले वैशाख र जेठमा करिब पाँच लाख र एनसेलले चार लाख गरेर नौ लाख ग्राहक गुमाउन पुगे । तेस्रो प्रतिस्पर्धी स्मार्ट टेलिकमको जेठसम्म ग्राहक सङ्ख्या भने २१ लाख ४१ हजार पुगेको तथ्याङ्कले देखाउँछ । पुसमा मोबाइलको पहुँच कुल जनसङ्ख्याभन्दा ४३.२२ ले बढी रहेकामा जेठसम्म आइपुग्दा पहुँच १९.३२ प्रतिशतले घटेर १२३.९० कायम भयो ।

किन घट्दै छन् ग्राहक ?
प्राधिकरणले प्रस्तुत गर्ने तथ्याङ्क जनसङ्ख्याको अनुपातमा गणना गरेर मोबाइल पहुँच भनिए पनि वास्तवमा त्यो बिक्री भएको सिमकार्डको सङ्ख्या हो । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सम्बन्धित महिनामा बिक्री गरेको सिमकार्डसहितको सङ्ख्या जोडेर प्राधिकरणलाई बुझाउने गर्छन् । प्राधिकरणले त्यसैलाई आधार मानेर दूरसञ्चार पहुँच प्रस्तुत गर्छ तर पुसदेखि जेठसम्म आइपुग्दा सेवा प्रदायकले बिक्री गरेको सिमको सङ्ख्या ५२ लाख ५७ हजारले घट्नु आफैँमा आश्चर्यजनक हो । बिक्री गरिसकेको सिमकार्डको सङ्ख्या आखिर कसरी घट्यो त ?
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल यसका पछाडि प्राधिकरणकै निर्देशनको पालना भएको बताउनुहुन्छ । छ महिनासम्म प्रयोगविहीन सिमकार्ड निष्क्रिय गर्नुपर्ने प्राधिकरणको निर्देशनकै कारण पछिल्लो समय मोबाइल ग्राहक सङ्ख्या घट्न पुगेको उहाँको भनाइ छ । त्यही निर्देशन पछिल्लो समय पालना हुँदा सेवा प्रदायकले ग्राहक गुमाएको देखिएको हो, उहाँले भन्नुभयो ।
प्राधिकरणकै निर्देशनअनुसार निष्क्रिय सिमकार्डलाई ‘रिसाइकल’ गर्ने प्रक्रियामा लैजाँदा कम्पनीका ग्राहक घटेको देखिएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी बताउनुहुन्छ । ग्राहक नै घटेको भन्दा पनि पहिले वितरण गरेको सिमकार्ड रिसाइकल गरिएको हो, उहाँले भन्नुभयो ।
रिसाइकल गरिएका यस्ता सिमकार्ड सेवा प्रदायकले पुनः बिक्री गर्दै आएका छन् । टेलिकमलाई प्राप्त मोबाइल कोडअनुसार अधिकतम सिमकार्ड वितरण हुँदा भविष्यमा नम्बर अभाव हुनसक्ने देखिएपछि रिसाइकललाई जोड दिइएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा सिमकार्ड जुनसुकै सङ्ख्यामा वितरण भए पनि सक्रिय प्रयोगकर्ताको सङ्ख्या भने जनसङ्ख्याको ७० देखि ८० प्रतिशतबीचमै रहेको प्राधिकरण अध्यक्ष खनालको भनाइ छ । वर्षभरको सक्रिय उपयोगको समय (भीएलआर) हेर्दा ८० प्रतिशत नजिक मात्रै सिमकार्ड सक्रिय देखिन्छन्, उहाँले भन्नुभयो । पछिल्लोपटक प्राधिकरणले सिमकार्ड बिक्री वितरणलाई व्यवस्थित गर्दै यसको दुरुपयोग रोक्न एक व्यक्तिले एउटा सेवा प्रदायकको दुईभन्दा बढी सिमकार्ड लिन नपाउने नियम लागू गरेको छ । त्यस्तै आफ्नो नाममा रहेको सिमकार्ड मात्र प्रयोग गर्न पनि प्राधिकरणले प्रोत्साहित गर्दै आएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?