logo
२०८१ बैशाख ५ बुधवार



निरन्तर वर्षा, सतर्कता जरुरी

मुख्य समाचार |


निरन्तर वर्षा, सतर्कता जरुरी


चाँदनी हमाल

काठमाडौँ, साउन ५ गते । मनसुनी न्यून चापीय रेखा नेपालमाथि आइपुग्दासम्म निरन्तर झरी र कतिपय अवस्थामा भारी वर्षा हुने क्रम जारी रहेपछि थप सतर्कता जरुरी भएको छ । पहाडी क्षेत्रमा लगातारको मध्यम झरी र तराईका क्षेत्रका केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएसँगै विपद्को पूर्वतयारी आवश्यक भएको छ ।
“मध्य तराई र पश्चिम तराईमा भारी वर्षा भइरहेको छ, काठमाडौँलगायत पहाडी भेगमा मध्यम वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले देशभर नै थप सतर्कता अपनाउनुुुुुु आवश्यक भएको बताउनुुभयो । उहाँका अनुसार प्रदेश ५ को तराई क्षेत्र, बाग्मती प्रदेशको तराई क्षेत्र र प्रदेश २ को तराई क्षेत्रमा भारी वर्षा भइरहेको छ । पश्चिमको कञ्चनपुरसहितका केही स्थानमा कम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मनसुन फेरि सक्रिय हुने पूर्वसूचना दिँदै केही क्षेत्रमा भारी वर्षाको सूचना दिएको छ । सोही अनुसार आउँदो चार दिन केही भेगमा अधिक वर्षा हुनसक्ने औँल्याइएको छ । साथै सम्बन्धित सरोकारवालालाई बाढी, पहिरो र डुबानलगायतका विपद्विरुद्ध पूर्वतयारी थाल्न अपिल गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले साउन ५ देखि ९ गतेसम्म कन्काई, कोसी, बाग्मती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती र प्रदेश १, २ र ५, बाग्मती तथा गण्डकी प्रदेश भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना रहेको जनाएको छ ।
सोमबारदेखि कोसी, नारायणी, महाकाली नदीमा बहाव सतर्कता तह पुग्ने अनुमान गरिएको छ । मङ्गलबार कोसी बढेर तराईमा बाढी र डुबान हुनसक्ने भएकाले पूर्वतयारी गर्न भनिएको छ । अन्य नदीको बहाव उत्तिकै रहने अनुमान गरिएको छ ।
यस्तै सुर्खेतमा एक वर्षअघि स्थापना गरिएको राडार बिग्रिएको झन्डै एक महिनापछि बनेको छ । राडार बिग्रदा वर्षा, बादलसहित मनसुनी क्रियाकलापको सूचना सङ्कलनमा समस्या भएको थियो । वर्षा सुरु नहुँदै बनाउने प्रयास भए पनि बन्दाबन्दीका कारण नसकिएको मौसमविद्हरूले जनाउनुभएको छ तर पछि अलिक खुकुलो भएसँगै प्राविधिक टोली काठमाडौँबाट सुर्खेत पुगेर राडारको मर्मत सम्भार गरेको जल तथा मौसम विज्ञान कार्यालय नेपालगञ्जका मौसमविद् विनोद पराजुलीले जानकारी दिनुभयो । राडारले त्यहाँबाट पूर्व अर्घाखाँची र बुटवलसम्म तथा पश्चिम नेपालसहित २२ जिल्लाको समग्र पूर्वसूचना प्रणाली नियमन गर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?