logo
२०८० चैत्र १६ शुक्रवार



अब दस मिनेटमै कर दाखिला गर्न सकिने

मुख्य समाचार |


अब दस मिनेटमै कर दाखिला गर्न सकिने


विश्वास रेग्मी

काठमाडौँ, साउन २ गते । साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले विकास गरेको उक्त प्रणालीमार्फत करदाताले नजिकैको बैङ्कमार्फत नै कर र आय विवरण दाखिला गर्न पाउने सुविधा उपलब्ध छ ।
चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो दिन सुरु गरिएको यो प्रणालीमा वार्षिक २० लाखसम्म कारोबार र दुई लाख रुपियाँसम्म आय भएका साना करदाता सहभागी हुन पाउनेछन् ।
महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैङ्क र राजस्व असुल गर्ने बैङ्क सँगको समन्वयमा विभागले निर्माण गरेको उक्त सफ्टवेयरमा करदाताको आय र कर विवरण दाखिला गरेपछि प्रणालीले नै स्वतः करको हिसाबकिताब गरेर बक्यौता रहे नरहेको जानकारी तथा बक्यौता नरहेको अवस्थामा कर चुक्ता प्रणाली जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।
साना करदाताको हकमा यो प्रणालीमा सहभागी हुन विभागले जारी गरेको आय विवरण तथा कर दाखिला फारम भने भर्नु पर्नेछ । उक्त फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम र कट्टी हुने रकम, आफ्नो नाम, दस्तखत र मोबाइल नम्बर भने उल्लेख गर्नु पर्नेछ ।
यसरी करदाताले उपलब्ध गराएको उक्त फारमका आधारमा बैङ्कले विभागले तयार गरेको प्रणालीमार्फत तत्काल नै कर बक्यौता रहे नरहेको जानकारी, बक्यौता रहे तत्काल नै तिर्न सक्ने व्यवस्था र कर चुक्ता प्रणाली करदाताका लागि उपलब्ध गराउन सक्नेछ । यो प्रणालीमा करदाताले अबदेखि एक पटकमा एकभन्दा बढी आय वर्षको आय विवरण र कर दाखिला पनि गर्न सक्नेछन् ।
अहिले करदाताले आफू दर्ता भएको आन्तरिक राजस्व कार्यालय वा करदाता कार्यालयमा गएर वा त्यसलाई विद्युतीय माध्यमबाट आय विवरण र भौचर तयार गरेर कर दाखिला गर्न सक्ने व्यवस्था छ । नयाँ प्रणालीको सुरुआतसँगै साना करदाताले राजस्व असुल गर्ने अधिकार रहेको बैङ्कको जुनसुकै शाखामा गएर फारम भरे आय विवरण तथा कर दाखिला गर्न सक्नेछन् ।
यसले कर कार्यालयमै गएर कर तिर्नुपर्ने बाध्यता अन्त्य गरिदिएको छ भने देशका जुनसुकै ठाउँबाट नजिकैको बैङ्कमार्फत छोटो समयमै कर भुक्तानीको प्रक्रिया पूरा गर्न सकिने सुविधा थप भएको छ । विभागका अनुसार यो प्रणालीबाट करिब पाँच लाख साना करदाता लाभान्वित हुनेछन् । त्यस्तै कर सहभागिता पनि बढ्ने अनुमान विभागले गरेको छ ।
यो प्रणाली उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रणालीको व्यवस्थापकीय सुधार अन्तर्गत यो प्रणाली सुरु गरिएको र यसबाट करदाताको लागतसमेत घट्ने बताउनुभयो । “कर दाखिलामा अब भौतिक दूरी ठूलो कुरो रहेन”, उहाँले भन्नुभयो, “आफूसँग भएको उपकरणबाटै बैङ्कसँग जोडिएर कर तिर्न सकिन्छ । राजस्व कार्यालय र बैङ्क टाढा हुँदैमा कर तिर्न पाइनँ भन्ने अवस्था अब रहँदैन । ”
यो प्रणालीले स्वतः करको हिसाब गरिदिने भएकाले स्वविवेकीय अधिकार घटाउने पनि उहाँले बताउनुभयो । राजस्व सचिव रामशरण पुडासैनीले कर प्रणालीलाई यसरी डिजिटल प्रणालीमा रूपान्तरण गर्दा कोभिड–१९ जस्तै परिस्थितिमा पनि कर सहभागिता बढाउन सकिने र समय पनि बचत हुने बताउनुभयो ।
विभागका महानिर्देशक विनोद कुँवरले कर प्रणालीलाई प्रविधि र करदातामैत्री बनाउने उद्देश्यअनुसार सबैको सहकार्यमा यो प्रणाली सुरु गरिएको जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?