logo
२०८० चैत्र १५ बिहीवार



वैदेशिक रोजगारीबाट आएका नाै जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश |


वैदेशिक रोजगारीबाट आएका नाै जनामा कोरोना सङ्क्रमण पुष्टि


अमृतप्रसाद पौडेल

बेनी, असार ३१ गते । वैदेशिक रोजगारीबाट आएर बेनी बजारमा रहेका क्वारेन्टाइनमा बसेका नाै जना युवाहरूको कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ आएको छ ।

म्याग्दीका नाै जना पुरुषलाई कोरोना पोजिटिभ देखिएसँगै म्याग्दीमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या पाँच जना महिलासहित ३४ पुगेको छ भने २० जनाले कोरोना जितेर घर फर्किसकेका छन् । गत असार २८ गते पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा मङ्गलबार राति नतिजा आएको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

भारतबाट आएर बेनी क्वारेन्टाइनमा बसेका बेनी नगरपालिका–१ का १८ वर्षीय पुरुष, बेनी नगरपालिका–४ सिङ्गाका कतारबाट आएका २८ वर्षीय र कुबेतबाट आएका ३० वर्षीय पुरुष, मालिका गाउँपालिका–१ का ३३ वर्षीय, २ का २५ वर्षीय, ४ का ४८ वर्षीय र ५ का २९ वर्षीय पुरुष, रघुगङ्गा गाउँपालिका–६ पाखापानीका २८ वर्षीय पुरुष र मङ्गला गाउँपालिका–५ का ३३ वर्षीय पुरुष गरी नाै जनामा सङ्क्रमण पुष्टि भएको लम्सालले विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ । हाल सम्म ५६० पीसीआर जाँचका लागि पठाइएकोमा सबैको नतिजा आएको छ ।
म्याग्दीमा पाँच महिलासहित २० जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १४ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?